४ महिनादेखि अवरुद्ध फाल्गुनन्द मार्ग खुल्यो

falgunanda marga' (1)इलाम, ३० असोज । वर्षाको कारण ४ महिनादेखि अवरुद्ध रहेको दमक—चिसोपानी—रवि सडक (फाल्गुनन्द मार्ग) सञ्चालनमा आएको छ । सडक पुनर्निर्माण र मर्मतपछि शुक्रबारदेखि सवारी साधनहरू गुड्न थालेका छन् । गएको जेठ अन्तिम सातादेखि रतुवा खोलामा बाढी आउन थालेपछि पुरै यातायात अवरुद्ध भएको थियो ।

दमक–चिसापानी–रवि सडक निर्माण उपभोक्ता समितिले यस वर्ष पनि सडकको अस्थायी ट्रयाक खोल्ने काम सम्पन्न गरेसँगै यातायातका साधनहरू सञ्चालनमा आएको उपभोक्ता समितिका महासचिव हेमन्त राईले सौर्यलाई जानकारी दिए । सडक डिभिजन कार्यालय झापा र उपभोक्ता समितिको तर्फबाट ७ लाख रुपैयाँको लगानीमा सडकको मर्मत गरिएको महासचिव राईले बताए । उनका अनुसार झापाको बेलडाँगीदेखि पाँचथरको रविसम्मको ३७ दशमलव ४ किलोमिटर कच्ची सडकको मर्मत गरिएको छ ।

वर्षासँगै सडकका विभिन्न स्थानमा गएको पहिरो स्काभेटर प्रयोग गरी हटाइएको, खाल्डाखुल्डी पुरिएको र रतुवा खोलामा बाढीले थुपारेको ढुंगासमेत पन्छाउने काम सिद्धिएपछि अहिले सो मार्गमा गाडीहरू नियमित रूपमा आवतजावत गर्न थालेको राईले बताए । सो सडकमा अहिले दैनिक ३५ बढी ट्याक्सी तथा दर्जनौँ ट्रक र ट्याक्टरहरू आवतजावत गर्न थालेका छन् । सो सडकमा हिउँदका करिब ८ महिना सवारी सुचारु रहने महासचिव राईले जानकारी दिए । सो सडकले इलाम र पाँचथरका १३ गाविसलाई झापाको दमकमा पूर्वपश्चिम राजमार्गसँग जोडेको छ । सडक खुलेपछि २ जिल्लाका दर्जनौँ गाविसका उपभोक्ताले राहतको महसुस गरेका छन् ।

इलामको चुलाचुली, बाँझो, इभाङ, गजुरमुखी, लुम्दे, फुएतप्पा, आमचोक र पाँचथरका रवि, कुरुम्बा, लिम्बा, दुर्दिम्बा, आरुबोटे, मौवा, यासोक, साराङ्डाँडालगायतका बासिन्दा लाभान्वित भएका छन् । दमकबाट दैनिक उपभोग्य सामग्री पहाडी क्षेत्रमा ल्याउन र पहाडबाट कृषिउपज तराई लैजान साथै मानिसहरूलाई आवतजावत गर्नसमेत सहज भएको छ ।

यसअघि सो सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गका रूपमा माथिल्लो भेगका बासिन्दा पाँचथरको कन्याटार हुँदै धनकुटाको ६ नम्बर बुधबारेको बाटो प्रयोग गर्नुपरेको थियो । तल्लो भेगका भने पैदल हिँड्ने गर्दथे । कतिले घुमाउरो बाटो मेची राजमार्ग समेत प्रयोग गर्दथे ।

यसवर्ष सो सडकलाई बाह्रैमास चल्ने सडक बनाउन सरकारको प्राथमिकता ‘ए’ मा पारिएको छ । चालु आर्थिक वर्षका लागि पूर्वाधार तयार गर्न भौतिक योजना तथा यातायात मन्त्रालयमार्फत ३२ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ ।

प्रतिक्रिया