काभ्रे, ३० असोज । अरनिको राजमार्ग र विपी राजमार्गमा दिनानुदिन सवारी चाप बढ्दै जाँदा २ राजमार्ग छुट्टिने ठाउँ धुलिखेलमा यतिबेला दिन र रातमा जाम हुन थालेको छ । काठमाडौंबाट साँगा, नाला नाका हुँदै दसैँ मान्ने जानेको भिडले गर्दा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लाका यात्रुहरूको भिडले भरिएको सवारीले गर्दा काभ्रेको सदरमुकाम हुँदै जाने यात्रुहरूलाई सकस भइरहेको बताएका छन् ।
कोसीपारीका रमेश गौतम, रामेछापका महेन्द्र मोक्तानले भने, ‘बनेपासम्म त बल्ल आइपुग्यौँ तर धुलिखेलसम्मको जामले गर्दा बिहान ७ बजे आइपुगेका हामी निस्कनै ३ घन्टा लाग्यो ट्राफिक पनि १ जना पनि देखिएन, भएका पनि होटल र चिया पसलतिर देखियो ।’ यसरी राम्रो व्यवस्थापन नहुँदा यात्रुहरू ठूलो सकसको यात्रा गर्न बाध्य भएका छन् ।
जिल्ला ट्राफिक कार्यालय काभ्रेका इन्स्पेक्टर दीपक खड्का भने डिजेल र प्रेट्रोलको लाइनले गर्दा रुटमा ३ लस्कर नअटाउने भएकोले यस्तो समस्या भएको जिकिर गरेका छन् । हरेक चाडहरूमा बनेपादेखि धुलिखेलसम्मको अरनिको राजमार्गमा यात्राको लागि यस्तो समस्या देखिँदै आएको छ । स्थानीय व्यवसायी सरोज श्रेष्ठले सौर्यसँग भने ‘ट्राफिक पनि यसमा जिम्मेवार हुनुपर्ने स्कटिङको समयमा मात्रै देखिन्छन’ उनले थपे ‘यता ट्राफिक जामले यात्रुहरू पीडा भोग्न वाध्य छन् ।’ उनले ट्राफिक मुकदर्शक बनिरहेको आरोपसमेत लगाएका छन् ।
प्रतिक्रिया