बाली परिक्षणमा ‘अनुसन्धान केन्द्र’

इलाम, ३० असोज । पूर्वी इलामको जौबारीस्थित कृषि अनुसन्धान केन्द्रले कृषि बालीको परीक्षण सुरु गरेको छ । अनुसन्धानसँगै रहेको बागवानी केन्द्रले विभिन्न फलफूलको विरुवा विकास परीक्षण थालेको छ । यहाँको अनुसन्धान र बागवानी केन्द्रले विभिन्न खाद्यान्न बालीसँगै तरकारी बालीको परीक्षण उत्पादन सुरु गरेको जनाएको छ । केन्द्रले कृषिजन्य वस्तुको विकासका लागि परीक्षण उत्पादन थालेको हो ।

जोगमाई र जमुना गाविसको सीमानामा रहेको केन्द्रले आलुका ७ जातको उत्पादन गरेको छ । उत्पादन गरेको आलुको बीऊलाई यसै वर्षदेखि कृषकलाई दिने अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक केशव श्रेष्ठले जानकारी दिए । विगतमा आलु विकास केन्द्रको रूपमा परिचित केन्द्रले डिजिरे, खुमल सेतो, कार्डिनल, जनकदेव, खुमल लक्ष्मी, कुर्फी ज्योति आलुको परीक्षण गरी बिउ तयारी गरेको छ ।

बागवानी केन्द्रले विभिन्न तरकारी बालीको परीक्षण उत्पादन थालेको छ । उत्पादन थालेको बेमौसमी तरकारी बालीमा ६ जातको बन्दा, ८ जातको काउली, गोलभेँडा, काँक्रा, स्थानीय डल्ले मूला, केराउ, सिमी, टमटरसँगै किवी फलसमेत रहेको बागवानी विकास केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत उमानाथ भण्डारीले जानकारी दिए । परीक्षणबाट स्थानीय क्षेत्रमा लगाउन सकिने बालीको विकास गर्न लागिएको हो । जुन विरुवा बाहिरी खुल्ला वातावरणमा उत्पादन गर्न सकिँदैन । टनेलको माध्यमबाट वालीको विकास गर्दै उत्पादित बालीको बिउ वितरण गरेर स्थानीय क्षेत्रमा कृषिको माध्यमबाट जीवनस्तर उकास्न पहल गरिने केन्द्रले जनाएको छ ।

खाद्यान्न बाली लगाउन नसकिने भिरालो जमिनमा उत्पादन गर्न सकिने ओखर, पिकानट(चुच्चे ओखर), स्याउ, कागजी बदाम, खुर्पानी, आरूबखडा, जै घाँस, जौँ, गहुँ फापर, आरूको विकास गर्न लागिएको अनुसन्धान केन्द्रले जनाएको छ ।

३ दशकसम्म आलु विकास केन्द्रको रूपमा परिचित जौबारीमा गत वर्षदेखि कृषि अनुसन्धान केन्द्र र बागवानी केन्द्र भई पुनःस्थापना भएको हो । पुनःस्थापना गर्नका लागि ०५३ सालमा कृषि विभागका माहानिर्देशक टेकबहादुर श्रेष्ठ, ०५७ मा कृषि विभागका घनश्याम सिंहको नेतृत्वमा र ०६६ मा कृषि विभागकै गोपाल श्रेष्ठको टोलीले अध्ययन गरेको थियो । यस केन्द्रमा ०६१ मा निजी कम्पनी सञ्जीवनी र डाबर नेपालले जडीबुटी खरिदका लागि अध्ययन गरेका थिए । केन्द्र घाटा भएको भन्दै आलुको बिउ उत्पादन बन्द गरी अलपत्र छोडेको थियो । केन्द्रले आलु विकास केन्द्रले अलपत्र छोडेको ८ हजार ४ सय २५ रोपनी जग्गा खुल्ला चरण क्षेत्रका रूपमा विकास भएको थियो ।

अझै पनि केन्द्रको जग्गाभित्र स्थानीय किसानको २२ वटा गाईगोठ सञ्चालनमा छन् । वाली विकासका लागि आवश्यक जग्गामा रहेको गोठलाई हटाउन १ टोली बनाइएको छ । टोलीले किसानको गोठलाई हटाउन पहल गर्नेछ । पर्याप्त केन्द्रको जग्गालाई उपयोगमा ल्याउन सकिएको छैन । केन्द्रका अनुसार २५ प्रतिशत मात्र बालीका लागि प्रयोग गर्न सकिने खेतीयोग्य जमिन, २५ प्रतिशत चरणका लागि उपयुक्त, २५ प्रतिशत सामान्य खेती गर्न सकिने र प्रतिशत उपयोग गर्न नसकिने केन्द्रले जनाएको छ ।

केन्द्र बन्द भएपछि त्यहाँको जमिन र १० वटा भवन भग्नावशेषमा परिणत भएकोमा जग्गाको पुनः उपयोग थालिएको हो । किसानलाई उन्नत आलुको बिउ वितरण तथा प्राविधिक सेवा प्रदान गर्न ०२० सालदेखि जग्गा खरिद गरी ०२४ सालदेखि आलु विकास केन्द्र सञ्चालनमा आएको थियो । केन्द्रका लागि १ करोड बढीमा भौतिक संरचना निर्माण गरिएको थियो । यसरी ०२४ सालमा आलु विकास केन्द्र सञ्चालनमा आए पनि ०३४ सालमा बन्द भएको थियो ।

प्रतिक्रिया