तासको खालले उठीबास

काभ्रे, ३० असोज । दसैँले घरबार उठीबास नै बनाएको यो सम्भवतः पहिलो घटना भने होइन । पनौतीको जिटी रेस्टुराँमा खेलाइएको जुवातासमा इलाका र गाउँमा खटिएका प्रहरीहरूले नै पैसा असुल गर्दै खेलाइँदै गर्दा ३ परिवारको उठीबास भएको हो । करिब ४० लाख बराबरको खेलमा हार्न पुग्दा पनौती घर भएका ३ जनाको दसैँको मुखमा उठीबास भएपछि यस्तो रहस्य खुलेको हो । उनीहरूले हारे लगत्तै बाहिरिएपछि प्रहरीकै पनि प्रत्यक्ष संलग्नता रहेको बताएका हुन् । दसैँ नजिकिएसगैँ काभ्रेमा जुवातास खेल्नेहरू सक्रिय हुन थालेका छन् । प्रहरीले पैसा खाँदै छोड्दै गर्दा यस्तो जुवातास खेलमा सक्रीय हुनेहरूले प्रोत्साहन पाएका स्थानीय महेश श्रेष्ठले बताएका छन् ।

काभ्रेको बनेपा, पनौती, साँगा, नाला, तिमाल, धुलिखेल सदरमुकाममासमेत तास खुलेआम खेलाइरहेको बताइएको छ । राजनीति दबाब र आडमा रहेर खुलेआम जुवा खेलेपछि विद्यार्थी र बाल मष्तिष्कमा पनि यसको प्रत्यक्ष असर पर्ने स्थानीयहरूले गुनासो गर्दै आएका छन् । गत वर्ष पनि जिल्लामा एसपी पूजा सिंहले ५० भन्दा बढी जुवाडेलाई पक्राउ गरेकी थिइन् । उनी केही दिनअघि मात्रै सरुवा भएकी हुन् । प्रहरीले मिलेमतोमा खेलाएपछि स्थानीय आश्चर्यमा परेका छन् । एकै दिन यति धैरे रकमको कारोबार भएको पनौतीको सो रेष्टुराँमा प्रहरीले पैसा उठाइरहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया