पाउडर प्लान्ट स्थापनाको माग

इलाम, २९ असोज । ‘मिल्क होलिडे’ ले हैरान बनेका दुग्ध किसानले सरकारसँग जिल्लामै पाउडर प्लान्ट स्थापनाको माग गरेका छन् ।

पशुपालन व्यवसायमै निर्भर रहेका तर हप्ताको तीन दिन मिल्क होलिडे खेप्न बाध्य भएका इलामका किसानले यसको दीर्घकालीन समाधानका लागि जिल्लामै पाउडर प्लान्ट स्थापनाको माग गरेका हुन् ।

सरकारको दुग्ध विकास संस्थानअन्तर्गत दुग्ध वितरण आयोजना विराटनगरले अहिले देशको राजनीतिक परिस्थिति, तराई आन्दोलन र बजार अभावको कारण देखाउँदै झन्डै एक महिनायता ‘मिल्क होलिडे’ गरिरहेको छ ।

जिल्लामै पाउडर प्लान्ट स्थापना गरिदिए पशुपालन व्यवसायमा निर्भर रहेका किसानलाई राहत पुग्ने पञ्चकन्याका चन्द्रबहादुर राईले बताए । सातामा तीन दिन दूध नबिक्दा एउटा किसानले हजारौँ रुपैयाँ नोक्सान सहनु परिरहेको छ ।

जिल्लामै पाउडर प्लान्ट स्थापना हुने हो भने किसानले यस्तो घाटा सहनु नपर्ने किसान नेत्रप्रसाद गड्तौला बताउछन् । ‘यहाँ दैनिक झन्डै एक लाख लिटर दूध उत्पादन हुन्छ, यहीको दूधले प्लान्ट सञ्चालन हुन्छ र किसानलाई पनि फाइदा पुग्छ’ – गड्तौलाले भने ।

जिल्लाको पूर्वी क्षेत्रमा रहेका साना किसानले प्रतिपरिवार दुई माउदेखि पाँच÷छ माउ उन्नत गाई पालेर दूध बिक्री गरिरहेका छन् भने यो वर्षमात्र धेरै किसानले व्यावसायिक रूपमा गाई फार्म सञ्चालन गरेर दूध उत्पादन गर्न थालेका छन् ।

जिल्लास्थित दुग्ध सहकारी सङ्घमा १२० वटा दुग्ध सहकारी संस्था आबद्ध छन् । सङ्घका अध्यक्ष हेम कट्टेलले बारम्बार हुने मिल्क होलिडे, बन्द हडताललगायतका समस्या झेल्नुभन्दा जिल्लामै पाउडर प्लान्ट स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । पाउडर प्लान्ट भए किसानले यस्ता समस्या भोग्नु नपर्ने र किसानको आम्दानीसमेत बढ्ने उनले बताए ।

दुग्ध वितरण आयोजनाले अहिले आइतबारदेखि बुधबारसम्म मात्र दूध संकलन गर्न थालेको छ । सहकारी संस्थामार्फत सङ्कलित दैनिक ३५ देखि ४० हजार लिटर दूध आयोजनाले विराटनगर लैजाँदै आएको छ । मिल्क होलिडेका कारण तीन दिनमा किसानलाई रु ३४ लाखभन्दा बढी क्षति हुँदै आएको छ ।

प्रतिक्रिया