हतियारसहित महिला पक्राउ

ताप्लेजुङ, २९ असोज । लुकिछिपी आपराधिक समूह बसेको आशंकामा बिहीबार राती अप्रेसन गरेको प्रहरीले ताप्लेजुङको दुर्गम गाउँबाट हतियारसहित १ महिलालाई पक्राउ गरेको छ । सदरमुकाम फुङलिङबाट १ दिनको पैदलमा रहेको इखावु गाविस जोरपानी चौरी खर्कमा गोठ बनाएर विष्फोटक पदार्थसहित बसेको समूहमाथि प्रहरीले राती सवा ४ बजे आक्रमण गरेको थियो । समूहमा रहेका अरू भागे पनि १ महिलालाई प्रक्राउ गर्न सफल भएको डिएसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

पक्राउ पर्ने महिलाको नाम भने गोप्य राखिएको छ । गोठबाट ४ वटा भरुवा बन्दुक, बम, बम बनाउन प्रयोग गरिने विष्फोटक पदार्थलगायतको सामान प्रहरीले बरामद गरेको छ । सो स्थानमा १ साता अघि मात्रै पनि प्रहरीले अपराधिक समूहका मानिसहरू बसेको आशंकामा छापा मारेको थियो । त्यसबेला गोठमा विभिन्न संगठनका नाममा पर्चा पम्पलेटहरू मात्रै भेटेको थियो । गत वर्ष जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र मोरङको पथरी प्रहरी कार्यालयमा बम विष्फोट गराउने समूहका नाइके हाराहाङ लिम्बूको समूह भएको प्रहरीको आशंका रहेको छ ।

७ महिनाअघि ताप्लेजुङ सरुवा भएर आएका कोइरालाले गम्भीर अपराधका दोषीलाईलाई पक्राउको लगातार प्रयास गरिरहेका छन् । यसअघि गाउमा आतंक मच्चाएर बसेका जिल्लाकै चर्चित मण्डेला भनेर चिनिने सागर लिम्बूलाई आत्मसमर्पण गराएका थिए । प्रहरीबाट बच्न नसक्ने अवस्था भएपछि मण्डेलाले छिमेकी गाविस नाल्बुबाट निर्वाचित सांसद डम्बरध्वज तुम्बाहाम्फेमार्फत आत्मसमर्पण गरेका थिए । उनले ३ वर्षअघि दोभान बजारमा भएको प्रहरी हत्याका दोषीहरू सबैलाई समेत आत्मसमर्पण गराएका थिए ।

प्रतिक्रिया