काठमाडौं, २९ असोज । दसैँ तिहारको लागि भनेर त्याइएको भेडा च्याङग्रा र खसीको मूल्य अघिल्लो वर्ष भन्दा बढेको छ ।
नेपालीहरूको मुख्य चाड दसैँ र तिहारमा अत्यधिक मासुको खपत हुने गर्दछ । तर, यसपाली खसी, भेडा, च्याङग्रा बजारमा कम आएकाले पनि यिनीहरूको मूल्य बढेको व्यवसायीहरू बताउँछन् ।
गतवर्ष १५ देखी १७ हजारसम्म पर्ने भेडा च्याङग्राको मूल्य यसपाली २३ हजारसम्म पर्ने भएको छ । हिमाली भेगमा पालिएका भेडा च्याङग्रालाई हिम चितुवाले यसपालि धेरै आक्रमणका कारण मृत्यु भएर र बाटो भत्किएको कारणबाट पनि कम मात्रामा च्याङग्रा भित्रिएका कारण यसपालीको दसँैमा सर्वसाधारणहरूले अघिल्लो बर्षको तुलनामा बढी मात्रामा मूल्य तिर्नुपर्ने देखिएको हो ।
यता, तराईमा विगत लामो समयदेखिको निरन्तर बन्दले गर्दा खसीबोका पनि भित्रिन नसक्दा यसपाली मासुको मूल्य बढ्ने देखिएको छ । जिउँदो खसीको मूल्य २५ केजीसम्मको प्रति केजी ४ सय ३५ रुपियाँ र २५ केजीभन्दा माथिको खसीको मूल्य ४ सय ४५ रुपियाँमा बिक्री गर्ने नेपाल खाद्य संस्थानले जनाएको छ । च्यांग्राको मूल्य प्रति केजी ६ सय ३० रुपियाँमा किनबेच हुने भएको छ । गत वर्षमा भन्दा यसपाली प्रति केजी १० रुपियाँले मूल्य बढेको छ ।
ढुवानीमा हुने समस्याका साथै अन्य विविध कारणले गर्दा मासुको मूल्य बढेको व्यवसायीहरू बताउँछन् । दसँैको बेलामा काठमाडौंमा ६० हजार खसीबोका र च्यांग्राको खरिद बिक्री हुने गर्दछ । तर, यसपाली भने तराई क्षेत्रमा विगत लामो समयदेखिको निरन्तर बन्द र हिमाली क्षेत्रमा बाटोहरूको अप्ठारोले गर्दा खसी, बोका र च्यांग्राको आयत कम भएकाले पनि मूल्यमा विगतको तुलनामा वृद्धी भएको व्यवसायीहरू बताउँछन् ।
प्रतिक्रिया