‘एनआरएनसँगको एकता मजबुत’

काठमाडौं, २९ असोज । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आर्थिक, सामाजिक र सांस्कृतिक पहिचानसहित गैरआवासीय नेपालीसँगको एकतालाई नयाँ संविधानले अझ मजबुत बनाएको बताएका छन् । गैरआवासीय नेपाली संघ(एनआरएनए)को साताँै अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले समग्र मुलुकको हित र सामाजिक–आर्थिक रूपान्तरणमा एनआरएनएको महत्वपूर्ण भूमिका हुने बताए ।

परराष्ट्रमन्त्री थापाले भने ‘ऐन, नियम बनाएर एनआरएनएलाई आफ्नो मातृभूमि नेपाल आवतजावत गर्न सहज बनाइएको छ । उद्योग व्यवसाय सञ्चालन गर्न पाउने, आर्जित नाफा लैजान पाउनेजस्ता व्यवस्था गरिसकिएको छ ।’ मुलुकको आर्थिक कूटनीतिको कुशल अभियन्ताको रूपमा एनआरएनएलाई लिएको पनि उनले उल्लेख गरे । संविधान जारी भएपछि मुलुकमा न्यूनतम शान्ति, स्थायित्व र लगानीको वातावरण बनेको पनि उनले उल्लेख गरे । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति सुरेशराज शर्माले देश विकासका लागि काम गर्ने समय आएको उल्लेख गर्दै व्यवहारमा आर्थिक तथा शैक्षिक उन्नतिका लागि पहल आवश्यक भएको बताए ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले भूकम्पले थला परेको आर्थिक क्षेत्र बन्द हडतालले उठ्नै नसक्ने बनेको बताए ।

एनआरएनएका नवनिर्वाचित अध्यक्ष शेष घलेले भूकम्पपछिको पुनःनिर्माण र मुलुकको नवनिर्माणमा एकताबद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।  सम्मेलनले नयाँ कार्यसमिति चयन गर्नुका साथै भावी कार्यक्रम तय गर्ने जनाइएको छ । सम्मेलनमा पर्यवेक्षकसहित एक हजार पाँच सयभन्दा बढी एनआरएन सदस्यको सहभागिता छ ।  एनआरएनको ७१ मुलुकमा राष्ट्रिय समन्वय परिषद् र एक अन्तर्राष्ट्रिय समन्वय परिषद् रहेका छन् ।

प्रतिक्रिया