भक्तपुर पनि पूर्ण साक्षर

असोज ३०, काठमाडौं । भक्तपुर जिल्ला पूर्ण साक्षर भएको छ । सबै नगरपालिका साक्षर भएपछि भक्तपुर पूर्ण साक्षर जिल्ला बनेको जनाइएको छ । जिल्लाका भक्तपुर, मध्यपुरथिमि, अनन्तलिङ्गेश्वर, सूर्य्विनायक, नगरकोट र चाँगुनारायण नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका घोषणा गरेसँगै भक्तपुरका ६ वटै नगरपालिका पूर्ण साक्षर नगरपालिका भएको हो ।

भक्तपुरमा दुई वर्षअघि बालकोट गाविसलाई पूर्णसाक्षर गाविस घोषणा गरेसँगै सुरु भएको अभियान एकसाता अघि चाँगुनारायण नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका घोषणा गरिएको थियो । भक्तपुरका ६ वटै नगरपालिका पूर्ण साक्षर नगरपालिका घोषणा भएको हो ।

जिल्ला शिक्षा समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीले जिल्लाको ६ वटै नगरपालिका पूर्ण साक्षर घोषणा भएकाले अब केही दिनभित्रै भक्तपुर जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिने बताए ।

उनले भने, ‘भक्तपुर पूर्ण साक्षर जिल्ला बनेको छ, अब घोषणा गर्ने तयारी गरिदै छ, केही दिनभित्रै जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्नेछौँ ।’ जिल्लाको ६ वटा नगरपालिकामध्ये मध्यपुरथिमि नगरपालिकामा ९७ प्रतिशत साक्षर भएपछि जिल्लामै पहिलो पटक साक्षर घोषणा भएको हो ।

त्यसैगरी अनन्तलिङ्गेश्वर नगरपालिकामा पनि ९७.३६ प्रतिशत नागरिक साक्षर भएपछि पूर्ण साक्षर नगरपालिका घोषणा गरिएको थियो भने नगरकोट नगरपालिका पनि कूल जनसङ्ख्याको ९५.४२ प्रतिशत नागरिक साक्षर भएपछि पूर्ण साक्षर नगरपालिका घोषणा गरिएको थियो ।

त्यस्तै सूर्यविनायक नगरपालिका ९६.३० प्रतिशत नागरिक साक्षर भएपछि नगरलाई पूर्ण साक्षर नगरपालिका घोषणा गरिएको थियो भने भक्तपुर नगरपालिकाका ९६.०८ प्रतिशत नागरिक साक्षर भएपछि भक्तपुर नगरपालिका पनि पूर्ण साक्षर नगरपालिका घोषणा भएको थियो ।

एकसाता अघि चाँगुनारायण नगरपालिकाको ९७.०५ प्रतिशत नागरिक साक्षर भएपछि पूर्णसाक्षर नगरपालिका घोषणा गरिएको थियो । विश्वव्यापी मान्यताअनुसार ९५ प्रतिशत नागरिक साक्षर भएपछि पूर्णसाक्षर मानिने भएकाले सोही मान्यताअनुरुप भक्तपुरमा पनि १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत साक्षर भएका नगरपालिकालाई पूर्णसाक्षर घोषणा गरिएको भक्तपुरका जिल्ला शिक्षा अधिकारी दिनेश श्रेष्ठले बताए ।

जिल्लालाई पूर्णसाक्षर घोषणा गरिएपछि पनि बाँकी रहेका नागरिकलाई आ–आफ्नै नगरपालिकाको आन्तरिक श्रोतबाट व्यवस्थापन गर्नेगरी साक्षरता कक्षा भने निरन्तररूपमा सञ्चालन गरी सय प्रतिशत नागरिकलाई साक्षर बनाउने उनले बताए । अनौपचारिक शिक्षा केन्द्रका निर्देशक बाबुराम पौडेलले २० वटा जिल्ला पूर्णसाक्षर जिल्ला भएको, ५५ वटा जिल्ला पूर्ण साक्षर घोषणाको तयारीमा रहेको बताए ।

भक्तपुरलाई पूर्ण साक्षर जिल्ला बनाएबापत प्रदान गरिएको रु पाँच लाख पुरस्कार रकम जिल्लाको शिक्षाको विकासमा खर्च गर्न सकिने उनले बताए ।

प्रतिक्रिया