म्याग्दी । मान्छेले त सेवासुविधा र आवश्यकताका आधारमा बसाइँ सर्ने गरेको सर्वविदितै छ तर पशुपन्छी पनि बसाइँ सर्छन् भन्दा कसैकसैलाई अपत्यारिलो लाग्न सक्छ । वातावरण र मौसम परिवर्तनसँगै चराहरू पनि बसाइँ सर्छन् भन्ने कुराको ज्वलन्त नमुना म्याग्दी जिल्लामा देखिएको छ । नेपालका तराई भेगमा पाइने गिद्ध केही समययता पहाडी जिल्ला म्याग्दीमा पनि देखिन थालेका छन् । यसबाट चराहरूले पनि आप्mनो अनुकूलअनुसार स्थान परिवर्तन गर्छन् भन्ने कुरा पुष्टि हुन्छ ।
तापक्रम वृद्धि हुने क्रम बढ्दै गएपछि चिसोको खोजीमा तराई क्षेत्रका गिद्ध पहाडी भेगमा आएको हुन सक्ने चरासम्बन्धी जानकारको अनुमान रहेको छ । म्याग्दीका ओखरबोट, रुम, ज्यामरुककोट, रत्नेचौरलगायतका गाउँमा यसअघि कहिल्यै नदेखिएका गिद्ध देखिएको स्थानीय बासिन्दाले बताएका छन् । पहाडी भेगमा पाइने हिले, हुचिल, रातोपांग्रेलगायत गिद्धका प्रजाति लोप हँुदै गएको अवस्थामा तराई क्षेत्रबाट बसाइँ सरी पहाडी भेगमा आएका गिद्ध लामो समयसम्म पहाडी भेगमा पनि अडिन नसक्ने चरासम्बन्धी अध्ययन गर्दै आएका राजु सापकोटाले बताए ।
‘सिमलको रूखमा बस्ने गिद्ध सिमल लोप हुँदै गएपछि पहाडी भेगबाट बसाइँ सर्न थालेका थिए । तर अहिले देखिन थालेका छन् ।’ बेनी नगरपालिका–४ बगरफाँटका नरबहादुर थापाले भने, ‘अहिले खेतभरि गिद्धको बिगबिगी छ । यो पनि कति समयसम्मका लागि हो ?’
प्रकृतिको कुचीकारका रूपमा मानिने गिद्ध लोप हँुदै गएपछि वातावरणीय प्रदूषण बढेको सम्बन्धित क्षेत्रका व्यक्तिले बताएका छन् ।
जिल्ला वन कार्यालय म्याग्दीका रेन्जर चन्द्रमणि सापकोटा वातावरणीय सन्तुलन कायम राख्न गिद्धको भूमिका महत्वपूर्ण हुने बताउँछन् । तराईका गिद्ध कसरी पहाडमा देखिए यो अनुसन्धानको विषय भएको र वन कार्यालयले यस सम्बन्धमा अध्ययन गर्ने सापकोटाले बताए ।
यता हिमाली भेगबाट रैथाने प्रजातिका पशुपक्षी उचित बासस्थानको खोजीमा हिमालपारि जान थालेको लोमान्थाङका डमबहादुर गुरुङले जानकारी दिए । हिमाली भेगबाट लाटोकोसेरो, चिबे, हुचिललगायत पक्षी र कस्तुरी मृगले बासस्थान छोडिसकेका छन् भने अन्य पक्षी पनि बिस्तारै उच्च हिमाली क्षेत्रमा बसाइँ सर्ने क्रम सुरु भएको छ ।
प्रतिक्रिया