गाउँमै व्यवसायबाट राम्रो आम्दानी

जाजरकोट, २७ असोज । गाउँको त्रिभुवन उमावि दल्लीमा २०६९ सालमा एसएलसी पास गरे डाडागाउँ गाविस–६ का जुमल्याह दाजुभाइ लभ कुश ओलीले ।

उनीहरू एसएलसी पास गर्नेबित्तिकै वैदेशिक रोजगारीका लागि मलेसिया गए । करिब दुई वर्षको अथक मेहनतबाट पैंसो कमाएर जन्मभूमि फर्किए । जन्मभूमि फर्केपछि जुमल्याह लभ कुश ओलीले सदरमुकाममा होटल किनेर सञ्चालन गरिरहेका छन् ।

होटलबाट मासिकरूपमा मनग्य कमाई भएको वली दाजुभाइ बताउँछन् । ‘लभकुश होटल’बाट दैनिकरूपमा यथेष्ट आम्दानी भएपछि अव जिल्लाका अन्य क्षेत्रमा शाखा विस्तार गर्ने मनस्थितिमा उनीहरू पुुगेका छन् । ‘सँगै पढेका साथी बिना कामले बरालिएको देख्दा मन दुखेर आउँछ ।’ वली दाजुभाइ भन्छन् । करिब दुई वर्ष विदेश बस्दा कडा मेहनत गरेका ओली दाजुभाइ समय अवधि नपुग्दै नेपाल फर्किएका थिए । अहिले होटलमा काम गर्ने मानिससमेत राखेर तलव दिने गरेका छन् । पढाईलाई निरन्तरता दिने उनीहरूको सोचाइ छ ।

ओली दाजुभाइले जस्तै खगेनकोट गाविस–६ का शान्तबहादुर खत्रीले तीन वर्ष मलेसिया बसेर फर्केपछि ५० मुरी धान फल्ने खेत किनेर अहिले त्यसमा धान फलाएर मनग्य आम्दानी लिइरहेका छन् ।

कमजोर पारिवारिकस्थिति भएका सक्ला गाविस–१ का प्रेमबहादुर खत्री एसएलसी पास गर्ने वित्तिकै वैदेशिक रोजगारीमा गएर यथेष्ट कमाई गरी अहिले साँघुतरामा रु आठ लाखको पसल सञ्चालन गरेर बसेका छन् ।

‘मासिक ३० हजारसम्मको व्यापार हुने गरेको छ,’ उनले भने । वारेकोट क्षेत्रका नायकवाडा, रोकायगाउँ र रामीडाँडाका अधिकांश व्यापारी उनकै पसलबाट दैनिक उपभभोग्य सामग्रीहरू लिन आउने गरेका खत्रीको भनाइ छ ।  जाजरकोटमा अधिकांश युवाहरू वैदेशिक रोजगारीबाट राम्रो कमाइ गरेर घरआँगनमै विभिन्न व्यवसाय सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया