अपांगताले छेकेन प्रतिभा

बागलुङ, २६ असोज । ‘अपांग नि मानव हैन र, उसको पनि अधिकार छैन र’ पाल्पाकी दृष्टिविहीन गायिका सम्झना थापाले प्रस्तुत गीत गाउँदा सडकमा झुम्मिएका दर्शक स्तब्ध बने । मन छुने स्वर–लयमा अपांग अधिकार, सामाजिक न्याय, मानवीयता र प्रेमका मुद्दामा थापाको गीत सबैलाई लोभ्याउने खालको थियो ।

शारीरिक अपांगता भएर पनि ‘ह्विल चेयर’ मा बसेर सुरिलो भाका हाल्ने पाल्पाकै अर्जुन रानाको स्वर पनि कुनै व्यावसायिक गायकको भन्दा कम्तीको थिएन । उत्तिकै जोश र उत्साहका साथ गीत गाउने रानाको प्रतिभा देखेर नलोभिने दर्शक सायदै थिएन होलान् । पाल्पादेखि गीत–संगीतमार्फत अपांगहरूको हक, अधिकारका पक्षमा आवाज उठाउँदै बागलुङ आइपुगेका अपांगता भएका कलाकारले आफ्नो प्रतिभामात्रै प्रस्तुत गरेनन्, सबैको प्रशंसा पनि बटुले र केही आर्थिकसमेत जोहो गरे ।

मेलमिलाप नेत्रहीन तथा अपांग केन्द्र, पाल्पाको तर्फबाट सांगीतिक अभियान लिएर अपांगता भएका कलाकार विभिन्न जिल्ला पुग्ने क्रममा यहाँ आइपुगेका हुन् । केही दिन बागलुङ सदरमुकामका विभिन्न स्थानमा आफ्ना कला–प्रतिभा प्रस्तुत गरेका कलाकारले संस्थाका लागि आर्थिक रकम पनि जुटाउन सफल भए । कलाकारले गीत–संगीतमार्फत अपांगहरूको सामाजिक न्याय र सुरक्षाको माग गरेका थिए ।

कलाकार समूहमा पाल्पा, चितवन, नवलपरासीलगायतका अपांग भएका व्यक्ति सहभागी थिए । ‘अपांगता भएका व्यक्तिलाई सीपमूलक तालिम सञ्चालन गर्न सांगीतिक अभियान चलाएका हौँ’ अपांग कलाकार विष्णुप्रसाद ढकालले भने ‘अभियानमा संकलन भएको रकमले संस्था चलाउन पनि सहयोग पुग्नेछ ।’

गत वर्ष स्थापना भएको अपांग केन्द्र आर्थिक अभावमा सञ्चालन गर्न कठिन भएको ढकालले बताए । कलाकार समूहमा दृष्टिविहीन र शारीरिक अपांगता भएका कलाकार संलग्न रहेको केन्द्रले जनाएको छ । दैनिक रूपमा कला प्रदर्शनबाट संकलित रकमले कलाकारले दैनिक खर्च पनि धानेका छन् । चितवनका अपांग कलाकार शिव भण्डारीले अपांगहरूलाई राज्यले सुरक्षा दिनुपर्ने धारणा राखे ।

‘अहिले पनि कतिपय अपांगता भएका व्यक्ति सामाजिक सुरक्षा पाउनबाट वञ्चित छन्’ भण्डारीले भने ‘अपांगहरूले सामाजिक न्याय र सुरक्षा पाउनुपर्छ, सबैले समान अवसर प्राप्त गर्नुपर्छ ।’ पाल्पामा रहेको अपांग केन्द्रले अपांगता भएका व्यक्तिहरूको सम्मानपूर्वक जीवनयापन गर्न पाउने अधिकारको पक्षमा कार्य गर्दै आएको भण्डारीले बताए ।

अपांगता भएका व्यक्तिलाई सीप र दक्षता प्रदान गरी आत्मनिर्भर बनाउने केन्द्रको प्रमुख लक्ष्य रहेको छ । देशका विभिन्न भागमा पुगी आफ्नो सांगीतिक अभियानमार्फत आर्थिक सहायता जुटाउने कलाकारले बताएका छन् । यात्राका क्रममा दर्शकबाट प्राप्त साथ र सद्भावले आफूहरू उत्साहित भएको समूहकी दृष्टिविहीन गायिका इन्दिरा थापा क्षेत्रीले बताए ।

प्रतिक्रिया