कञ्चनपुर, २३ असोज । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाको टोटी खोलामा करिब रु तीन करोड ५३ लाखको लागतमा पक्की पुल बन्ने भएको छ । नगरपालिका–९ र १० जोड्ने पुल जिल्ला विकास समिति कञ्चनपुरको स्थानीयस्तरका सडकपुल कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको हो ।
नार्गाजुन वाइआर मित्र जेभीसँग ठेक्का सम्झौता गरिएको सो पुलको लम्बाइ ३५ मिटर, चौडाइ ५ दशमलव ४५ मिटर र दुई वटा स्पान रहने जिल्ला प्राविधिक कार्यालयका मुख्य इन्जिनियर कमल कुमार अधिकारीले बताए ।
पुल पाइल फाउन्डेसन प्रविधिमा आधारित भएर निर्माण गरिने इन्जिनियर अधिकारीले भने, ‘यस प्रविधिको अधिक बालुवा भएका ठाउँमा प्रयोग गरिन्छ ।’ उनका अनुसार यसअघि यस्तो प्रविधि वैशाखा खोलामा निर्माण भइरहेको पुलमा समेत प्रयोग गरिएको छ ।
‘पुल निर्माणका लागि हालसम्म रु एक करोड ६७ लाख प्राप्त भएका र थप रकम मन्त्रालयबाट समयमै निकासा भए एक वर्षभित्रै पुल निर्माण गर्ने लक्ष्य लिएका छौ’ उनले भने । तिहार पछि पुल निर्माणको कार्य प्रारम्भ गरिने बताइएको छ । सो पुलको सिँचाइमन्त्री नारायणप्रकाश साउदले हालै शिलान्यास गरेका थिए ।
प्रतिक्रिया