ट्याक्टरले किचेर आन्दोलनकारीको मृत्यु

deadजनकपुर, २५ असोज । जनकपुरमा ट्याक्टरबाट किचिएर एक आन्दोलनकारीको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका– ८ का २५ वर्षीय रोशन ठाकुर रहेका छन् ।

शनिवार राति १२ बजेको समयमा इँट्टा लिएर भानुचोकतर्फ जाँदै गरेको ज १ त ३४१४ नम्बरको ट्याक्टरलाई रोकाएर चेकजाँच गर्न खोज्ने क्रममा किचिएर ठाकुर गम्भीर घाइते भएका थिए । ठाकुरलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गराइएको र सम्भव नभएपछि बिपी कोइराला विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

भनुचोकबाट जनकचोकतर्फ आएको सो ट्याक्टर देख्नासाथ रोशनले रोकाउन खोज्दा किचिएर गम्भीर घाइते भएका थिए । तिव्रगतिमा भएको ट्याक्टरलाई रोकाउन खेजेपछि रोशनलाई किच्दै भागेको बताइएको छ । सो ट्याक्टर बसहियाका मनोज इँट्टा उद्योगको भएको पत्ता लागेको छ । ट्याक्टर हाल जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

रोशनको शव धरान अस्पतालमै पोस्टमार्टमपछि घर ल्याएकाले घट्ना सार्वजनिक भएको हो । रोशनको शवलाई आइतबार साँझै दाहसंस्कार गरिएको छ । रोशनको मृत्युपछि घरपरिवार शोकमा डुबेका छन् । स्थानीयका अनुसार रोशन आन्दोलनमा २४ घण्टा सक्रियतापूर्वक लागेका थिए ।

यता अन्दोलनमा रहेको संयुक्त लोकतान्त्रिक मोर्चाले घट्ना सन्दर्भमा ढिला जानकारी भएको जनाएको छ । यस घट्ना सन्दर्भमा मोर्चाले सोमबार बैठक बसी गम्भीरता पूर्वक छानविन गर्ने मोर्चाका धनुषा संयोजक प्रमेश्वर साहले जानकारी दिएका छन् ।

प्रतिक्रिया