नयाँ प्रमसँग जोडिएको भविष्य

नयाँ संविधान जारी भएपछि त्यही संविधानअनुसार आइतबार संसद्ले नेपालको ३८औँ प्रधानमन्त्री चयन गरेको छ । व्यवस्थापिका संसद्ले कसलाई प्रधानमन्त्रीमा चयन ग¥यो भन्नुभन्दा पनि कसरी चयन ग¥यो भन्नेचाहिँ प्रमुख विषय हो यतिखेर । नयाँ संविधान जारी गर्दाका बखत प्रमुख राजनीतिक दलबीच देखिएको एकता आइतबार भएको प्रधानमन्त्रीको निर्वाचनसँगै तुहिएको हल्ला पनि चल्न थालेको छ । प्राविधिक रूपमा विश्लेषण गर्दा यस्तै लाग्छ । र, यसरी नै विश्लेषण गर्ने हो भने मधेसमा आन्दोलनरत दल–समूह राजनीतिको मूलधारमा आइसकेको विश्लेषण पनि गर्नुपर्ने हुन्छ । तर पनि शनिबार रातीदेखि आइतबार प्रधानमन्त्रीको निर्वाचन हुँदाका बखतसम्मको समयमा विकसित राजनीतिक घटना क्रमलाई हेर्ने हो भने मुलुकको शक्तिसन्तुलनमा कुनै न कुनै रूपमा हलचल भएकै हो भन्ने स्पष्ट संकेत देखापरेको छ । एउटा ‘कोर्स’मा अगाडि बढ्दै गरेको नेपालको राजनीति अर्को ‘कोर्स’मा जान लागेको संकेतको रूपमा यो घटनालाई लिन थालिएको छ । तर, वर्तमान संसद्को सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले यसलाई ‘प्रजातान्त्रिक अभ्यासको सुन्दर पक्ष’ को संज्ञा दिँदै संविधान कार्यान्वयनमा राजनीतिक सहमतिलाई कायमै राख्दै आगामी दिनमा पनि आफ्नो सकारात्मक सहयोग रहने प्रतिबद्धा गरेको छ । नेपाली कांग्रेस यही दिशामा अघि बढ्ने हो भने यो उसको सकारात्मक कदम हुनेछ ।

आइतबार निर्वाचित प्रधानमन्त्रीको कार्यकाल यसअघिका प्रधामन्त्रीको भन्दा ऐतिहासिक छ र त्यति नै मुस्किल पनि । वर्तमानमा देखिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समस्या समाधान गर्दै नयाँ संविधानको सफल कार्यान्वयन गर्नु नयाँ प्रधानमन्त्रीको प्रमुख चुनौती हो । त्यसका लागि छिन्नभिन्न अवस्थामा रहेको राष्ट्रियतालाई एकतृत गर्नु पहिलो सर्त हुनेछ । मित्रराष्ट्रको अघोषित नाकाबन्दीले मुलुकमा उत्पन्न असहज परिस्थितिलाई कूटनीतिक तबरबाट समाधान गर्नु पनि नयाँ सरकारको प्राथमिक एवं अपरिहार्य जिम्मेवारी हो । यसमा नवनिर्वाचित प्रधानमन्त्री कत्तिको खरो उत्रन सक्छन्, यसबाट नै उनको भावी कार्यदिशा र सफलताका श्रेणीहरू पहिल्याइने छ ।

भविष्यको कुरा भविष्यले नै निर्धारण गर्दै जानेछ तर अहिले विषम परिस्थितिमा मुलुकले नयाँ प्रधानमन्त्री पाएको छ । नयाँ प्रधानमन्त्रीले त्यसलाई चिर्दै अगाडि बढ्न सक्नुपर्दछ । नयाँ प्रधामन्त्री आफ्नो कार्यदक्षता, कूटनीतिक चातुर्य, कुशल प्रशासनिक क्षमता प्रदर्शन गर्दै राष्ट्र र राष्ट्रियताको पक्षमा अडिग भएर लागून् । राष्ट्रिय स्वाभिमान र अस्मितामाथि स्वदेश तथा विदेशबाट बेलाबखतमा हुने गरेका प्रहारलाई चिर्दै समस्याको चिरस्थायी समाधान गर्न सफल होऊन् । देशलाई शान्ति, विकास र समृद्धिपथमा अग्रसर गराउन उद्यत बनून् । अहिले नेपाली जनताले राजनीतिक दल र नयाँ प्रधानमन्त्रीबाट गरेको अपेक्षा यत्ति हो । नयाँ प्रधानमन्त्रीको कार्यकुलतासँगै मुलुकको भाग्य र भविष्य पनि जोडिएको छ । त्यसलै नयाँ प्रधानमन्त्रीको कार्यकालको सफलता नै मुलुकको सफलता हुनेछ ।

प्रतिक्रिया