नयाँ प्रधानमन्त्री केपी ओलीलाई एकजना नागरिक अग्निपुञ्जको खुलापत्र

सम्माननीय नवनिर्वाचित प्रधानमन्त्री केपी ओली ज्यू,
१ जना नागरिकको अभिवादन,

अग्निपुन्ज

निकै खतरनाक रस्साकस्सी र इतिहासकै सम्भवतः चुनौतिपूर्ण घडीमा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा हार्दिक वधाई ज्ञापन गर्दछु । दक्षिण एसियाकै खतरनाक जासुसी संस्था र नेपाल भित्रका केही शक्तिको अवान्छित चलखेललाई अन्य दलहरूको सहयोगमा पराजित गर्नुभएकोमा पनि बधाई ।

तपाइको जितलाई जनता केवल तपार्इं र एमालेको जितको रूपमा मात्र बुझ्न तयार छैनन् । यहाँको जितलाई ३ दलीय एकता भत्काउन सफल खुफिया एजेन्सी र विगत २ हप्तादेखि नाकाबन्दीको उपहार दिइरहेको असल भनिएको मित्र भारतको कूटनीतिक र रणनीतिक पराजयको रूपमा जनताले अथ्र्याइरहेका छन् । सम्पूर्ण राष्ट्रवादी शक्तिहरू, नाकाबन्दीको मारले अस्तब्यस्त जीवन बिताइरहेका आम नागरिक र राष्ट्रिय एकताको पक्षमा उभिने सबै दलभित्रका नेताकार्यकर्ताको विजयको रूपमा लिने मानिस पनि प्रसस्तै भेटिए । मैले भने यहाँको जितलाई सिधा रेखामा गलत र बाह्य पात्रद्वारा लतारिरहेको नेपाली इतिहासको क्रमभंग र स्वाभिमानी नयाँ इतिहासको प्रस्थानबिन्दुको रूपमा बुझेको छु । तर, त्यसको लागि यहाँले इतिहासले सुम्पेको निश्चित जिम्मेवारी निर्भिकतापूर्वक पूरा गर्नुपर्नेछ ।

देशभित्रका राष्ट्रवादी शक्तिहरूलाई समेट्दै नेपाललाई स्वाभिमानी ढंगले नयाँ बाटोमा अघि बढाउने र नेपालविरुद्ध रचिएका चक्रब्यूह र षड्यन्त्रलाई अन्त्य गर्ने दुवै जिम्मेवारी एकसाथ यहाँको काँधमा आइपरेको छ । यसमाथिको प्रभावशाली कार्यक्षमताले मात्र जटिल मोडको यहाँको सफल नेतृत्वलाई पुष्टि गर्नेछ । अन्यथा सिंहदरबारमा जंगबहादुरको तस्बिरबाट सुरु भएको फोटो प्रदर्शनीमा अर्को एउटा फ्रेम झुन्ड्याउने काम मात्र पूरा हुनेछ ।

उत्तरी नाका तुरुन्त खोल्नुहोस्,
नाकाबन्दीको मारबाट अत्तालिएका नागरिकको जीवन सामान्यकरण गर्न निर्भिकतापूर्वक वैकल्पिक व्यवस्थाको खोजी गर्नु र वैकल्पिक नाका खोल्ने हिम्मत गर्नु यहाँको पहिलो दायित्व हुनेछ । तत्कालीन अर्थमन्त्री रामशरण महत र कांग्रेसको भित्री योजनामा उत्तरी नाका खोल्न बजेट उपलब्ध नगराउनु र चीनले आवश्यक इन्धन उपलब्ध गराउने वचन दिँदा पनि भारतको स्वार्थमा त्यसतर्फ कदम नचाल्नु दुर्भाग्यपूर्ण कदम थियो । राष्ट्रहितविरुद्धका यस्ता कदमहरूलाई यहाँको पालामा पूर्णरूपमा निर्मुल पारियोस् ।

नेपालको हिमाल र पहाडको समानुपातिक विकासको लागि हिमाल–चीन जोड्ने थप सडक निर्माण गर्नुको विकल्प छैन । दक्षिणतिर जति नाका खुला छन् त्यसमा कम नहुने गरी उत्तरतर्फ पनि सडक निर्माण गर्न जरुरि छ । पहिले सर्भे गरेको भनिएको उत्तरी नाकाबारे तुरुन्त थप अध्ययन गरी अघि बढ्न सके कार्यकाल स्वर्णिम हुनेछ । यस्तो होस् कि बिहान दक्षिणतिर नाकाबन्दी हँुदा बेलुका उत्तरबाट सामान भित्र्याउन सकियोस् ।

तराई मार्चपास,
भारतको योजनामा नेपालको तराईलाई आफ्नो सुरक्षा कवजको रूपमा निर्माण गर्ने स्पष्ट योजनाका साथ् सुरु गराइएको मधेस आन्दोलनको राजनीतिक समाधान नै उपयुक्त बाटो हो । मधेसी जनताको एजेन्डा नै छैनन् भन्न खोजेको होइन तर दशगजाबाट नेपालतर्फ ढुंगा बर्साउनु, भारततर्फको नाकामा सानका साथ धर्ना बस्नु, सीमापारी सामान किन्न जाने नेपालीलाई मरणासन्न हुने गरी कुटपिट गर्नु र भारतीय सुरक्षा निकाय नतमस्तक हुनु भनेको भारतकै आदेशको प्रतिफल हो ।

यति हुँदाहुँदै पनि तराईंको गाउँगाउँमा तुरुन्त अभियान सञ्चालन गर्ने र संविधानमा सुनिश्चित उनीहरूको अधिकारबारे प्रष्ट पार्नु नयाँ सरकारको बाँकी रहेको पुरानो दायित्व हो । संविधान घोषणा गर्ने सम्पूर्ण शक्ति, सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विद्यार्थी, बुद्धिजीवी, शिक्षक, महिला र आम सचेत नागरिकलाई यसका लागि तराई मार्चपास अभियानअन्तर्गत गाउँगाउँमा पठाउने र जनतासँग साक्षात्कार गर्ने काम तुरुन्त गर्नुपर्दछ । संविधानका सुन्दर पक्षमाथिको भ्रम चिर्न मात्र सकियो भने पनि ९०५ समस्या हल हुनेछ । बाँकी समस्याको राजनीतिक समाधान नै अन्तिम विकल्प हो । त्यसपछि संविधानको सफल कार्यान्वयनको चरण प्रारम्भ गर्दै देशलाई समृद्धिको बाटोमा अघि बढाउनु नयाँ प्रधानमन्त्रीको अर्को महत्वपूर्ण दायित्व हो ।

केन्द्रबिन्दुमा आत्मनिर्भरता ५ प्रमुख हतियार
०२७ सालमा नाकाबन्दी भोग्यो देशले, शिक्षा लिइएन । इतिहास उस्तै पाराले भिन्न युगमा दोहोरियो र ०४५ सालमा अर्को नाकाबन्दीको सिकार भयो देश तर फेरि पनि पाठ सिक्न फुर्सद भएन । नाकाबन्दीको गोलचक्करमा देशलाई कहिले सम्म फसाउने ? किनकि, नेपाल मामलामा भारतको स्पष्ट स्वार्थ छ, त्यो स्वार्थ पूरा हँुदा नेपालको भूगोल अन्त्य हुन्छ । स्वार्थ पूरा नहुँदा नाकाबन्दीको शिलशिला जारी हुने गर्दछ ।

यदि देश आज आत्मनिर्भर भएको भए यस्ता नाकाबन्दीको कुनै प्रभाव पर्ने थिएन । तर, अब आत्मनिर्भरताको बाटोमा अघि बढ्न ढिला गर्नु हुँदैन । विशेषगरी ५ प्रमुख क्षेत्रमा हुने तीव्र विकासद्वारा मात्र देश आत्मनिर्भर हुनेछ ।

पहिलो, दृढ इच्छाशक्ति हुने हो भने जलविद्युुत् उत्पादनका लागि लगानी जम्मा गर्न नसक्ने भन्ने हँुदै हँुदैन । नेपालको आप्रवासी शक्ति, मल्टिनेसनल कम्पनी, निजी क्षेत्र, नागरिक, सरकार र वैदेशिक अनुदान गरी छ मुख्य श्रोतको पहिचान गरि अघि बढ्ने हो भने कुनै शंका नै छैन कि नेपाललाई पुगेर पनि निर्यात गर्ने गरि विद्युत् उत्पादन गर्न सम्भव हुनेछ । यसतर्फ ठोस योजनाका साथ कदम चाल्न सके नयाँ प्रधानमन्त्रीज्यूको कार्यकाल सार्थक हुनेछ ।

दोस्रो, नेपालमा जति पनि सम्भावित पेट्रोलियम पदार्थ र अन्य खानीहरू रहेको भनिएको छ, अब ती सबैको उचित अध्ययनद्वारा उत्खननतर्फ अघि बढ्न अनिवार्य छ । राजनीतिक स्थिरतापछिको असाधारण जनपरिचालन र श्रोतको व्यवस्थापन, परिचालनद्वारा नेपालको भौगर्भिक सम्पदाको उपयोग र निर्याततर्फ देश अघि बढ्न जरुरि छ । यसले गर्दा एकातिर छोटो समयमै नेपाल आर्थिक विकासको बाटोमा अघि बढ्नेछ भने अर्कातिर नेपालमाथि छिमेकी देशको निर्भरता बढ्नेछ जसले गर्दा अहिलेको स्थिति फेरी कहिल्यै दोहोरिने छैन ।

तेस्रो, पहाड र हिमाली भेगमा भएका मूल्यवान जडीबुटीको संकलन तथा प्रशोधन केन्द्रको निर्माण गर्न ढिला गर्नुहँुदैन । यिनीहरूको उत्पादन, संरक्षण, सम्बर्धन र व्यवस्थित निर्यात मार्फत नेपालको पहाडी र हिमाली भेगको विकास र त्यहाँका जनताको जीवनस्तर उकास्ने भरपर्दो माध्यम बनाउनतर्फ ठोस कदम चाल्न आवश्यक छ ।

चौथो, स्वदेसी कृषि उत्पादन र उपभोगमा जोड दिनु अनिवार्य छ । यसको प्रभावकारिताका लागि स्वदेशी मालसामानको संरक्षण, सम्बर्धन र उपयोगको विशेष नीति राज्यले बनाउनै पर्दछ । विदेशबाट आयात गरिने सामानहरूमा ट्याक्स बढाउने, कृषकहरूलाई मुख्य उत्पादन बस्तुको पहिचान गरी उक्त वस्तुमा ‘सब्सिडी’ प्रदान गर्ने र स्वदेशी उत्पादनको खपतमा जोड दिने खालको विशेष नीति राज्यले अबलम्बन गर्न जरुरि छ । कृषकहरू र स्वदेशी उत्पादनका उपभोक्ताहरूलाई पुरष्कृत गर्ने कार्यक्रमहरू राज्यले ल्याउनै पर्दछ भने बजार व्यवस्थापनको लागि पनि राज्यले ठोस नीति र कदम चाल्न जरुरि देखिन्छ, फलस्वरूप विदेशी समानहरूको साम्राज्य अन्त्य हुने र उत्पादनको युग सुरु हुनेछ ।

पाँचौँ, प्रयटनको विकास नयाँ ढंगले गर्न जरुरि छ । नेपाल विशेषगरी धार्मिक स्थल भएकोले धार्मिक तीर्थयात्रीहरूलाई आकर्षण गर्ने नीति र कार्यक्रम ल्याउन जरुरी हुनेछ । पशुपतिनाथको दर्शन गर्न आउने दर्शनार्थीहरूको कम्तीमा ३ रात सम्मको मात्र भए पनि व्यवस्थित बसोबास र उचित सुरक्षाको वातावरण मिलाउने हो भने त्यसबाट प्रशस्त आर्थिक लाभ हुने देखिन्छ ्र त्यसका लागि पशुपतिक्षेत्र विकास कोषलाई थप व्यवस्थित र पारदर्शीरूपमा क्रियाशील बनाई भौतिक संरचनाको निर्माणतर्फ अघि बढाउन आवश्यक छ । प्रतिदिन कम्तीमा १ हजार जनाको व्यवस्थित तथा सुरक्षित बासको प्रबन्ध मिलाउन सकियो भने यसले नेपालको धार्मिक प्रर्यटनको विकासमा टेवा पु¥याउने देखिन्छ ।

बुद्धधर्म अंगाल्ने विश्वका थुप्रै महिलाहरू लुम्बिनीमा आएर शिशु जन्माउन चाहन्छन् । बुद्धको जन्मस्थल लुम्बिनीलाई पनि सोही प्रकारले व्यवस्थित रूपमा विकास गर्ने हो भने ती महिलाहरूको चाहना पूरा हुने मात्र होइन कि त्यसबाट विश्वब्यापी रूपमै बौद्ध धर्मावलम्बीहरूको शिशुजन्मस्थानको रूपमा नेपाल चिनिने छ । त्यसको लागि राज्यले उचित व्यवस्था गर्न सके धार्मिक प्रयटनले छलाङ मार्ने कुरामा शंका गर्नु पर्दैन ।

यी सबै कुराहरूको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार र प्रवद्र्धन गर्न नेपालको कुटनीतिलाई बलियो बनाउनै पर्दछ । त्यसका लागि राज्यले अत्याधुनिक व्यवस्था र उच्च लगानीसहितको अन्तर्राष्ट्रिय स्तरको ‘रिसर्च एन्ड स्टडी सेन्टर’ को स्थापनातर्फ कदम चाल्नै पर्दछ जहाँबाट सक्षम, अध्ययनशील र ‘ट्याक्टफुल’ कुटनीतिज्ञहरूको जन्म हुँदै जाओस् ।

नेपालको राष्ट्रवादी वामपन्थी शक्तिलाई थप मजबुत र एकढिक्का पार्दै र प्रतिपक्षमा रहने शक्तिलाई पनि साथमा लिएर असाधारण तरिकाले देशको समृद्धीतर्फ अघि बढ्न सक्नु र समृद्धिको बाटोमा हुने देशी विदेशी प्रहार र हस्तक्षेपलाई पराजित गर्दै अघि बढ्न सके नयाँ प्रधानमन्त्रीको नाम सुनौलो अक्षरले लेखिनेछ ।

माथि उल्लेखित ती सबै कुराहरूको एकीकृत कार्यक्रम र कार्यान्वयनले मात्र भर्खरै निर्वाचित सम्माननीय नयाँ प्रधानमन्त्री केपी ओलीज्यूको युगिन अभिभारा र प्रभावशाली कार्यकाल पूरा हुनेछ । अन्यथा सिंहदरबारको भित्तामा थप अर्को तस्बिर झुन्डिनुमा नै राष्ट्रले गर्व गर्नुपर्ने विगतकै अभ्यासले निरन्तरता नपाउला भन्न सकिने छैन ।

प्रतिक्रिया