काठमाडौं । आइतबार प्रधानमन्त्रीमा निर्वाचित एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सबै पार्टीसँग मिलेर अघि बढ्ने बताएका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै आइतबार व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै नवनिर्वाचित प्रधानमन्त्री ओलीले सबै पार्टीसँग मिलेर सबैको साथ समर्थन जुटाएर अगाडि बढ्ने सोच बनाएको जानकारी दिए । प्रधानमन्त्रीको निर्वाचनमा एमालेले संसद्को विश्वास प्राप्त गरेको बताउँदै उनले आफूलाई निर्वाचनमा विजयी बनाउन मतदान गर्ने एमाओवादी, राप्रपा नेपाल, राप्रपालगायत सबैलाई धन्यवाद दिए ।
उनले भने, ‘नयाँ जिम्मेवीलाई अवसर, सम्मान र चुनौतीको रूपमा लिएको छु ।’ संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र अघोषित नाकाबन्दीको कारण आपूर्ति व्यवस्थामा भइरहेको कठिनाइ समाधान गर्ने विषय प्राथमिकतामा रहेको उनको धारणा थियो । देशको विकास निर्माणलाई अगाडि बढाएर समृद्धितर्फको यात्रालाई तीव्रताका साथ अगाडि बढाउने बताउँदै नवनिर्वाचित प्रधानमन्त्री ओलीले शान्ति सुव्यवस्था कायम गर्ने र त्यससँगै विभिन्न रचनात्मक काममार्फत देशलाई अगाडि बढाउने कुरामा आफ्नो ध्यान जाने विश्वास दिलाए । उनले सबैलाई सँगै लिएर जाने आफ्नो उद्देश्य रहेको स्पष्ट पारे ।
पूरा सहयोग हुन्छ : कोइराला
काठमाडौं । कांग्रेसका सभापति सुशील कोइरालाले नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो तर्फबाट पूर्ण सहयोग हुने बताएका छन् । व्यवस्थापिका–संसद्मा आइतबार प्रधानमन्त्रीको निर्वाचन भएलगत्तै बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै निवर्तमान प्रधानमन्त्री कोइरालाले निर्वाचनमा भएको आफ्नो हारलाई ‘प्रजातान्त्रिक अभ्यास’ को संज्ञा दिए । राजनीतिमा आफूले हारजित खेप्दै आएको बताउँदै उनले बहुदलीय प्रजातन्त्रमा हारजित सामान्य कुरा भएको धारणा व्यक्त गरे ।
प्रजातान्त्रिक प्रणालीअनुसार निर्वाचनमा भाग लिएकोमा आफूलाई गर्व महसुस भएको बताउँदै उनले यसअघि दलबीच भएको भद्र सहमति र १६ बुँदे सहमतिको कुनै उल्लंघन नभएको स्पष्ट पार्दै राजनीतिमा सबैले इमान्दार हुनुपर्ने जिकिर गरे ।
अब पार्टीको भूमिका के हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा कांग्रेस संसदीय दलका नेतासमेत रहेका कोइरालाले ‘त्यसबारे पार्टीमा छलफल हुने’ भन्दै मधेसमा भइरहेको आन्दोलनको समाधान गर्नुपर्ने बताए । आन्दोलनको निकासका लागि वार्ताको सुरुवात भएको र यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उनले हिमाल, पहाड र तराई सबैलाई एक बनाएर लैजानुपर्ने बताए ।
मुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्र र विकासका लागि कांग्रेसले पहलकदमी लिएको बताउँदै उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि आफू उभिएको र त्यो निरन्तर हुने विश्वास दिलाए ।
मोदीद्वारा बधाई र भ्रमणको निम्तो
नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण निम्तो दिएका छन् । प्रधानमन्त्री भएलगत्तै पार्टी कार्यालय पुगेका ओलीलाई मोदीले टेलिफोनबाट बधाई दिँदै भ्रमण निम्तो दिएका हुन् । ‘मोदीले प्रधानमन्त्री ओलीलाई उपयुक्त समयमा भारत भ्रमण गर्न निम्तो दिनुभयो,’ ओली निकट केन्द्रीय सदस्य राजन भट्टराईले भने, ‘अहिले मौखिक निम्तो दिएको छु, आधिकारिक निकायबाट पत्र पनि आउँछ भन्नुभयो ।’
वार्तामा ओलीले भारतको नाकाबन्दीले पारवहन समस्या भएको भन्दै सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेका थिए । जवाफमा मोदीले नेपालमा केके असहज अवस्था छन् आफूले फुकाउने आश्वासन दिए । यसैबीच, ओलीलाई बधाई दिन नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताई एमाले केन्द्रीय कार्यालय धुम्बाराही पुगेका छन् । प्रधानमन्त्री निर्वाचित भएलगत्तै ओली संसद् भवन नयाँ बानेश्वरबाट सिधै पार्टी कार्यालय गएका थिए ।
जताततै दीपावली
तेह्रथुममा जन्मीका एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको ३८ औं प्रधानमन्त्री निर्वाचित भएपछि तेह्रथुमका नागरिकले खुसीयाली मनाएका छन् । केन्द्रमा पहुँच नहुँदा विकासमा पछि परेको गुनासो गरिरहने जिल्लावासी आफ्नै जिल्लामा जन्मिएका ओली प्रधानमन्त्री भएपछि जिल्लाले विकास र देशले स्थायी शान्ति पाउने आशमा खुसीयाली साटासाट गरेका थिए ।
तत्कालीन आठराई पोखरी गाउँ पञ्चायत वडा नम्बर ५ हाल ईवा–२ खानीगाउँ तेह्रथुममा ०८ साल फागुन ११ गते जन्मिएका ओली प्रधानमन्त्री निर्वाचित भएलगत्तै जिल्लाभरका नागरिकले खुसी मनाएका छन् । आफ्नै गाउँले देशको प्रधानमन्त्री हुँदा खुसीले सीमा नाघेको इवा गाविसका निवर्तमान उपाध्यक्ष तुलसी संग्रौलाले बताए ।
राजनीतिको केन्द्रभागमा रहेका ओली देशको प्रमुख कार्यकारी प्रधानमन्त्री भएको भन्दै एमालेले जिल्लाभर आइतबार साँझ दीपावली गर्ने तयारी गरहेको एमाले उपाध्यक्ष लक्ष्मण तिवारीले बताए । ओलीले प्रारम्भिक शिक्षा आर्जन गरेको तत्कालीन प्रणामी मिडिल स्कुलमा पनि भव्य दीपावलीको तयारी भइरहेको निवर्तमान गाविस उपाध्यक्ष संग्रौलाले बताए ।
यता, एमाले निकट युवा संघ नेपालले पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएकामा आइतबार साँझ नयाँबानेश्वर तथा त्यस आसपास क्षेत्रमा दीपावली गरेको छ । वैदेशिक हस्तक्षेप बढिरहेका बेलामा राष्ट्रिय शक्तिको एकताले ओली प्रधानमन्त्री भएको भन्दै खुसियाली मनाएका थिए ।
कार्यक्रममा संविधान जारी भएको केही सातामा पार्टीका अध्यक्ष ओली प्रधानमन्त्री भएकामा उनको कार्यकालको सफलताको कामना गरिएको थियो । संघका महासचिव प्रभातविक्रम कट्वालले ओलीको नेतृत्वमा बन्ने सरकारले देशमा विद्यमान समस्या समाधान गर्दै संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । नयाँ संविधान जारी भएपछिको पहिलो तथा मुलुकको ३८ औं प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओली निर्वाचित भएपछि इलाममा पनि दीपावली गरिएको छ ।
आइतबार साँझ इलाम चोकबजारमा गरिएको दीपावलीमा एमाले र एमाओवादीका नेता–कार्यकर्ता तथा सर्वसाधारण सहभागी थिए । ओली मेची अञ्चलबाट प्रधानमन्त्री बन्ने दोस्रो व्यक्ति हुन् । यसअघि इलामका झलनाथ खनाल मेची अञ्चलबाट प्रधानमन्त्री बनेका थिए ।
प्रतिक्रिया