बेलहारामा विष्फोट, एक घाइते

धनकुटा, २४ असोज | बेलहारामा शनिबार विष्फोटक पदार्थ पड्किएको छ । विष्फोेटमा परी एक गम्भीर घाइते भएका छन् । धनकुटा नगरपालिका–१४ बेलहारास्थित जगविर मगरको बारीमा दिउँसो विष्फोट भएको हो ।

आफ्नै बारीमा खन्ने क्रममा पहेलो डल्लो जस्तो वस्तु देखिएपछि सो डल्लो खोल्ने क्रममा अचानक पड्किँदा ६० वर्षीय मगर घाइते भएका हुन् । उनको दुवै हातको कुइना देखिमुनि सबै भाग झरेको छ । त्यस्तै शरीरका अन्य भागमा समेत चोट लागेको छ । गम्भीर घाइते मगरलाई दिउँसो उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

उनको अवस्था चिन्ताजनक छ । घटनापछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी गएर घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता बिमल बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया