मुस्ताङ, २३ असोज । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथदेखि लेतेको पैरोथाप्ला जोड्ने गरी नयाँ पदमार्ग सञ्चालनमा आएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जिल्ला विकास समिति, स्थानीय वन व्यवस्थापन समिति र स्थानीयवासीको लगानी र श्रमदानमा ५७ किलोमिटर लामो पदमार्ग सञ्चालनमा आएको हो । बेनी–जोमसोम सडकखण्ड सञ्चालनमा आएपछि प्रभावित बनेको मुस्ताङको पर्यटन व्यवसायलाई थप ऊर्जा प्रदान गर्न पर्यटकको सल्लाह र सुझावका आधारमा पदमार्ग तयार पारिएको एक्यापले जनाएको छ । मुक्तिनाथ, लुप्रा, जोमसोम, ठिनी, धुम्बाताल, छैरो, टिटिताल, ताक्लुङ, कुञ्जो हँुदै पैरोथाप्ला निस्कन सकिन्छ । त्यसबाट म्याग्दीको नारच्याङ, भुरुङतातोपानी, शिखघार हुँदै घोरेपानी पुग्ने पुरानै पदमार्गलाई सञ्चालनमा ल्याइने बताइएको छ । तीन दिने सो पदमार्गमा प्राकृतिक आनन्दका साथै विभिन्न किमिसका चराचुरुङ्गी र वन्यजन्तुको अवलोकन गर्न सकिन्छ । मुस्ताङ जिल्लाकै प्रसिद्ध ताल धुम्बाताल र टिटिताललाई समेत पदमार्गले समेटिएको कारण प्राकृतिक सुन्दरतामा रमाउने पर्यटकलाई फाइदा पुग्ने एक्याप जोमसोमका पर्यटन सहायक बेलबहादुर पुनले जानकारी दिए ।
मुक्तिनाथ, ठिनी, ताक्लुङ, कुञ्जो र मार्फा गाउँमा ग्रामीण पर्यटनको समेत सम्भावना रहेकाले पदमार्गले त्यसलाई प्रवद्र्धन गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ । ‘अहिले हामी यो पदमार्गलाई सञ्चालनमा ल्याएका छौँ, केही समूह पर्यटक यो पदमार्गमा आउँदैछ’ उनले भने । पर्यटन क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्था, पर्यटन एजेन्सी तथा अन्य सरोकारवाला निकायसँग चरणबद्धरुपमा छलफल गर्दै त्यसलाई दीर्घकालीन बनाउन लागि पर्ने एक्यापले जनाएको छ ।
प्रतिक्रिया