पुरस्कारको रकमबाट बहुउद्देश्यीय भवन

चितवन, २३ असोज । पश्चिम चितवनमा रहेको चितवन नगरपालिकामा बहुउद्देश्यीय भवन निर्माण गरिने भएको छ ।

कृषि क्षेत्रको रुपमा रहेको चित्रवनमा कृषिउपज सङ्कलनका लागि करिब रु ५० लाखको लगानीमा चितवन नगरपालिकाको कार्यालय नजिकै सो बहुउद्देश्यीय भवन बनाउन लागिएको हो । बहुउद्देश्यीय भवन निर्माणका लागि क्लिनिक नेपाल मेघौलीले आर्थिक सहयोग गरेको छ । अमेरिकाको फ्लोरिडा विश्वविद्यालयले उत्कृष्ट सामाजिक काम गरेको भन्दै क्लिनिक नेपालका अध्यक्ष हरि भण्डारीलाई सम्मान गरेको थियो । भण्डारीले सम्मानस्वरुप पाएको रु ५० लाख बहुउद्देश्यीय भवन निमार्णका लागि सहयोग गरेका हुन् । कृषिउपजको सङ्कलन तथा बिक्री केन्द्रका साथै प्राकृतिक विपत्तिका बेला उद्धार गर्ने स्थल, सभा तथा सम्मेलनसमेत गर्न मिल्ने गरी सो भवन बनाउन लागिएको चितवन नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र अर्यालले जानकारी दिए ।

बहुउद्देश्यीय भवन बनेपछि चितवन नगरपालिका, नारायणी नगरपालिका र यस आसपासमा क्षेत्रका कृषक लाभान्वित हुने उनले बताए । बहुउद्देश्यीय भवनको सभासद् रामकृष्ण घिमिरेले हालै शिलान्यास गर्दै भवन निर्माणपछि कृषि क्षेत्रको रुपमा विकास भएको पश्चिम चितवनका कृषकको स्तरोन्नति हुने विश्वास व्यक्त गरे । छ महिनामा सो भवन पूरा हुने छ । निर्माणको जिम्मेवारी पाएको मिनाज कन्स्ट्रक्सनले दसँैलगत्तै यसको निर्माण कार्य सुरु गरिने जनाएको छ ।

प्रतिक्रिया