नयाँ पुस्ताप्रति हाम्रो दायित्व

अरुले हाम्रा सन्तानको रेखदेख त गरिदिन्छ तर संस्कार सिकाउँदैन, सामाजिक उत्तरदायित्वका बारेमा बुझाइदिँदैन । बाबुआमाको छत्रछाया र प्रत्यक्ष रेखदेखबाट टाढा रहेका बालबालिकाको शारीरिक तथा मानसिक विकास प्रक्रिया फरक किसिमको हुन्छ भन्ने मनोवैज्ञानिक तथ्यलाई अहिलेको धन र भौतिकताको पछि लागेको समाजले या त बुझेको छैन या बुझेर पनि नबुझेको जस्तो गरिरहेको छ । धनले खोक्रो आदर्श र भौतिक सम्पन्नता पाउन सकिएला तर शान्ति, सन्तुष्टि र मानसिक सुख किन्न सकिँदैन । इज्जत, प्रतिष्ठा, लोकप्रियता, सामाजिक सम्मान र मानसिक सुख प्रप्त गर्न सकारात्मक सोचको विकास अनिवार्य छ ।

lekhnath_dahalप्रकृति गतिशील छ । समाज पनि गतिशील नै हुन्छ तर प्रकृति र समाजको गतिमा प्रस्टै पृथकता झल्कन्छन् । पल, क्षण, मुहूर्त, घटिका, प्रहर, दिन, रात, पक्ष, महिना, ऋतु, वर्ष गर्दै निरन्तर एउटै गतिमा परिवर्तन हुने र तदनुरूप पृथक्–पृथक् विशेषता लिएर आउने प्रकृति आफैँमा पूर्ण, परिपक्व र नियमित देखिन्छ तर सामाजिक संरचना र समाज परिवर्तनको गति त्योभन्दा भिन्न देखिन्छ । हुन त समाज पनि प्रकृतिको अभिन्न अङ्ग हो तर जन्मदेखि मृत्युपर्यन्त मानिसले अवलम्बन गर्ने विविध क्रियाकलापका कारण समाजको गति र विकासको क्रममा फरक देखिने गर्छ ।

समाज भन्नु नै व्यक्ति–व्यक्तिको समूह हो । हरेक व्यक्तिका निजी सोच, विचार, तर्क, चाहना र व्यवहार हुन्छन् । विवेकशील मनुष्यले ती व्यक्तिगत भिन्नतालाई आत्मसात् गर्दै अरूको विचार र चाहनालाई उचित सम्मान गरेर संगच्छध्वम्, संबदध्वम्को भावनाका साथ अघि बढ्ने हो भने मानव समाजमा कुनै मनमुटाव, ईष्र्या, द्वेष, द्वन्द्व र वैमनष्यता र प्रतिस्पर्धा उत्पन्न हुने थिएन । तर, भौतिक सम्पन्नताको पछिपछि दौडिएको वर्तमान समाजमा यस्तो हुनु सम्भव छैन किनकि यहाँ प्रत्येक व्यक्ति–व्यक्तिबीच टकराव छ, प्रतिस्पर्धा छ । दाजु र भाइ, लोग्ने र स्वास्नी, बाबु र छोरा, दाजुभाइ र दिदीबहिनीबीच पनि प्रसङ्ग र विषयअनुसार प्रतिद्वन्द्विता र प्रतिस्पर्धा चलिरहेको देखिन्छ । सबैलाई आप्mनो अस्तित्वको मोह छ, स्वार्थसिद्धिको चाहना छ, कोही कसैका लागि केही गर्न सक्दैन र चाहँदैन पनि । यसो हुनुमा पनि हाम्रो समाज र हाम्रा कतिपय सामाजिक व्यवहार, आचरण र पद्धति दोषी देखिन्छन् । यस अर्थमा हामी स्वयं पनि दोषी छौँ ।

बच्चा जन्मनेबित्तिकैदेखि उसमा हामी तेरो र मेरो भन्ने भाव वीजारोपण गरिदिन्छौँ । सुन्दर भविष्य र समृद्ध जीवनको नाममा कलिलो बालमस्तिष्कलाई धनलोलुप बनाइदिन्छौँ । हामी नै हाम्रा बालबालिकालाई दिनानुदिन मतलबी बनाइरहेका छौँ, स्वार्थी र लोभी बन्न प्रेरित गरिरहेका छौँ । हामी धन बचत गर्न सिकाउँछौँ तर कहिल्यै परसेवामा धन खर्च गर्न सिकाउँदैनौँ अनि अरूको दुःख र पीडामा मलम लगाउन प्रेरित गर्दैनौँ । दया, धर्म, करुणा, स्नेह, सद्भाव र नैतिक आचरणका कुरा सिकाउन सकेनौँ ।

आफू कष्ट सहेर भए पनि अरूको ओठमा हाँसो ल्याउने कोसिस गर्नुपर्छ भन्ने भाव अन्तर्मनमा उत्पन्न गर्न÷गराउन हामी कहिल्यै उद्यत भएनौँ । हामीलाई हाम्रो समाजले धनी, सम्पन्न र वैभवशाली बन्न अभिप्रेरित गरिरहेको पाइन्छ ।

समाजका केही अपवादलाई छोडेर समाजका बाँकी सदस्यले पढ्नु, लेख्नु र ज्ञान आर्जन गर्नुलाई नैतिक, सामाजिक, जिम्मेवार र सक्षम व्यक्तित्व निर्माण गर्ने दिशातिर लगाउनुपर्ने हो तर शिक्षादीक्षालाई जागिर खाने वा पेसा व्यवसाय गर्ने र धन कमाउने माध्यमका रूपमा मात्र रूपान्तरण गरेको पाइन्छ । कसैको कमाइ, बचत, घर, गाडी, सम्पत्ति आदि हेरेर त्यसको वैभवसँग तुलना गर्छौ र आपूmभन्दा सानालाई त्यसले त त्यत्रो प्रगति ग¥यो, तैँले के गरिस् ? भन्ने प्रश्न गर्छौं । यसले पैसाको पछि लाग्न र स्वार्थी बन्न सामाजिक दबाब सिर्जना हुनुका साथै वैभवशाली बन्न मनोवैज्ञानिक प्रभाव पारेको पाइन्छ ।

कसैसँग हेपिनु हुँदैन भनेर हामीले आप्mना सन्तानलाई अभिमानमा बाँच्न सिकायौँ तर आपूmभन्दा ठूलालाई आदर सत्कार गर्नुपर्छ, अभिवादन गर्नुपर्छ भनेर आचरण र अनुशासन सिकाउन सकेनौँ, जीवनमा धनसम्पत्ति भन्दा नैतिक आचरण ठूलो हो, धनको तुलनामा इज्जत र प्रतिष्ठाको महत्व ठूलो हुन्छ भन्ने कुरा हामीले हाम्रा सन्तानलाई सिकाउने काम कहिल्यै गरेनौँ । हामीले नयाँ पुस्तालाई अधिकार खोज्न सिकायौँ तर कर्तव्य पूरा गर्ने नैतिक आचरण र व्यवहार सिकाउन सकेनौँ । हामी धन आर्जनका लागि बिहान उज्यालो भएदेखि बेलुकी मध्यरातसम्म खट्न थाल्यौँ तर पारिवारिक दायित्व बुझाउन, पारिवारिक संस्कार र संस्कृति, सामाजिक भावना सिकाउन अलिकति समय निकाल्न सकेनौँ । व्यापार, व्यवसाय र जागिरका लागि देशविदेश चाहार्दा चाहार्दै परिवार र छोराछोरीलाई समय दिन नै भ्याउँदैनौँ अनि हाम्रा सन्तानलाई हेरचाह गर्न अरुको जिम्मा लगाउँछौँ ।

पैसाका लागि अरुले हाम्रा सन्तानको रेखदेख त गरिदिन्छ तर संस्कार सिकाउँदैन, सामाजिक उत्तरदायित्वका बारेमा बुझाइदिँदैन । बाबुआमाको छत्रछाया र प्रत्यक्ष रेखदेखबाट टाढा रहेका बालबालिकाको शारीरिक तथा मानसिक विकास प्रक्रिया फरक किसिमको हुन्छ भन्ने मनोवैज्ञानिक तथ्यलाई अहिलेको धन र भौतिकताको पछि लागेको समाजले या त बुझेको छैन या बुझेर पनि नबुझेको जस्तो गरिरहेको छ ।

पैसा तिरेर विद्यालय पठाएपछि शिक्षकले पढाउँछन् र छोराछोरीले पढिहाल्छन् भन्ने हामी ठान्छौँ तर साथी, सङ्गत, सामाजिक वातावरण आदिको प्रभावका कारण हाम्रा सन्तान गलत बाटोमा पनि लागेका हुन सक्छन् भन्नेतिर ध्यान दिइरहेका हुँदैनौँ । जति बेला ध्यान जान्छ त्यति बेलासम्म धेरै ढिला भइसकेको हुनसक्छ । त्यसैले समयमै आप्mना सन्ततिका चालचलन र आचरणका बारेमा विशेष ध्यान दिनु नै बुद्धिमानी हुन्छ ।

काम, दाम र मामको पछि लाग्दा लाग्दै हामी सामाजिक तथा पारिवारिक दायित्व पूरा गर्न चुक्छौँ । जीवनमा धन नै सर्वस्व हो भन्ने सोच्छौँ । यही सोचका कारण अहिलेको समाज र नयाँ पुस्ता स्वार्थी, धनलोलुप र मतलबी बन्दै गएको महसुस हुन थालेको छ । यसका कारण तल्लो पुस्ताले माथिल्लो पुस्तालाई बेवास्ता गर्ने परिपाटीको विकास हुँदै गएको स्पष्ट देखिन्छ । समाजमा यही क्रम निरन्तर बढ्दै जाने हो भने यसले हाम्रो सामाजिक संरचना, मूल्य र मान्यताका धरोहर भत्कनुका साथै भयावह अवस्था उत्पन्न हुने निश्चित छ ।

तसर्थ, समयमै यसप्रति हामी सचेत भएर हाम्रा सामाजिक संरचना, मूल्य, मान्यता तथा सामाजिक मर्यादा र माथिल्लो पुस्ताप्रति तल्लो पुस्ताले निर्वाह गर्नुपर्ने दायित्वबारे शिक्षित र दीक्षित गर्न सक्नुपर्छ । बाँचुन्जेल ठूलाबडालाई आदर, सत्कारपूर्वक पालनपोषण गर्न र उनीहरुका ज्ञान, अनुभव र सीपले भरिपूर्ण विचारलाई आत्मसात् गर्दै अघि बढ्न पे्ररित गर्नुपर्छ अनि मात्र पुस्तान्तरबाट सिर्जित समस्या केही हदसम्म कमी हुन सक्छ ।

धनले खोक्रो आदर्श र भौतिक सम्पन्नता पाउन सकिएला तर शान्ति, सन्तुष्टि र मानसिक सुख किन्न सकिँदैन । इज्जत, प्रतिष्ठा, लोकप्रियता, सामाजिक सम्मान र मानसिक सुख प्रप्त गर्न सकारात्मक सोचको विकास अनिवार्य छ । धन सुख प्राप्त गर्ने साधन हो, साध्य होइन, धन जीवनको एउटा पाटो हो सिंगो जीवन होइन भन्ने भावनाको विकास हामीले नयाँ पुस्तामा विकसित गर्नुपर्ने समय आइसकेको छ । अहिलेको आवश्यकता भनेको नैतिक आचरण र सामाजिक मूल्य र मान्यतामा आधारित समाज निर्माण गर्नु हो । यस कार्यमा सबैको सकारात्मक सोच, साथ र सहयोग अपरिहार्य छ ।

कपन, काठमाडौं ।

प्रतिक्रिया