जनकपुर, २२ भदौ । आन्दोलनको समाचार संकलनको क्रममा जनकपुरमा प्रहरीले लगातार पत्रकारलाई निशाना बनाउन थालेपछि नेपाल पत्रकार महासंघ धनुषाले स्थानीय प्रशासनलाई चेतावनी पत्र बुझाएको छ । समाचार संकलनको क्रममा प्रहरीबाट हुने गरेको आक्रमणले पत्रकारहरू असुरक्षित भएको भन्दै महासंघले मंलबार जिल्ला प्रशासन कार्यालय पुगेर सिडिओ कालीप्रसाद पराजुलीलाई सो पत्र बुझाएको हो ।
महासंघका धनुषा अध्यक्ष अनिल मिश्रको नेतृत्वमा गएको धनुषाका पत्रकारहरूको टोलीले ध्यानाकर्षण बुझाउँदै आगामी दिनमा यस्ता घट्नाहरू भए पत्रकार पनि चुप लागेर नबस्ने चेतावनी दिएका छन् । सोमबार जनकपुरमा आन्दोलनको समाचार संकलन आएका सौर्य दैनिकका महोत्तरी संवाददाता विक्रम रौनियारलाई प्रहरीहरूले निर्घात कुटपिट गरी साथमा रहेको क्यामेरा समेत फुटाएका थिए ।
त्यस्तै १ हप्ताअघि प्रत्यक्ष प्रसारण गर्दै गरेको स्थानीय टिभी टुडेको क्यामेरा सशस्त्र प्रहरीले ढुंगाले हिर्काएर फुटाएका थिए । त्यस्तै रेडियो मिथिलाका प्राविधिक चन्द्रदेव साहलाई रेडियोबाट घरजाँदै गर्दा जनक चोकमा प्रहरीले निर्घात कुटपिट गरेका थिए ।
यसअघि समाचार संकलनको क्रममा उज्यालो ९० नेटवर्कका धनुषा संवाददाता शैलेन्द्र महतो, नेपाल टेलिभिजनका संवाददाता श्रीनारायण साहलगायतलाई कुटपिट गरेका थिए । त्यस घट्नामा एसपी गणेशबहादुर थापाले आइन्दा यस्तो घट्ना नदोहरिने प्रतिवद्धता गर्दै माफी मागका थिए । त्यस्तै दोषी इन्स्पेक्टर निरञ्जन थापालाई कारबाही स्वरूप सरुवा गरिएकोे थियो ।
एसपीले माफी माग्दा र आइन्दा यस्तो घटना नदोहरिने प्रतिवद्धता जाहेर गरे पनि पत्रकारमाथि प्रहरीबाट आक्रमण जारी नै रहेकोले पत्रकारहरू असुरक्षित भएको र प्रेस स्वतन्त्रामा अंकुस लागेको भन्दै महासंघले प्रशासनलाई ध्यानाकर्षण गराएको हो ।
पत्रकारहरूले ध्यानाकर्षण गराएपछि सिडिओ पराजुलीले आइन्दा यस्तो घटना नदोहोरिने प्रतिवद्धता दोहो¥याएका छन् । उनले पत्रकार रौनियारको फुटेको क्यामेराको क्षतिपूर्तिको व्यवस्था गर्ने समेत बताए । त्यस्तै तत्कालै एसपी गणेशबहादुर थापा र सशस्त्रका एसपी रविन्द्र ठाकुरलाई कुनै पनि पत्रकारमाथि अबदेखि यस्तो घटना नहोस् भन्दै मातहतका प्रहरीलाई सचेत गराउन निर्देशन दिएका छन् ।
प्रतिक्रिया