जनकपुर, २२ भदौ । जनकपुरमा आन्दोलन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले सरकारी कार्यालय क्षेत्रमा पुनः निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको धनुषाका सिडिओ कालीप्रसाद पराजुलीले जानकारी दिए ।
स्थानीय प्रशासनले अधिकांश सरकारी कार्यालय भएको क्षेत्र जनकपुरको कदमचोकदेखि मुरलीचोकसम्म, भुतनाथ मन्दिरदेखि जिल्ला अदालतसम्म र कोषलेखा नियन्त्रण कार्यालयदेखि आन्तरिक राजस्व कार्यालयसम्म करिब ५ सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । त्यस्तै जिल्ला भन्सार कार्यालय भएको क्षेत्र जनकपुरको भानुचोकदेखि रेल्वे स्टेसनसम्मको क्षेत्रमा समेत निषेधाज्ञा जारी गरेको उनले जानकारी दिए ।
सीमांकनको विरोधमा मधेसमा करिब ४ सातादेखि अनिश्चितकालीन आन्दोलनमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय मधेसी मोर्चाको उग्र बन्दै गएको आन्दोलनले सरकारी कार्यालयमा घटाउन सक्ने संभावित घटनालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको छ ।
मोर्चाले सोमबार जनकपुरमा लाठी जुलुस प्रदर्शनको क्रममा जनकपुरको पिडरीयामाईस्थान नजिक रहेको नेपाली कांग्रेस धनुषाको कार्यालयमा आगजनी गरेको र नेकपा एमालेको बार एसोसिएसन नजिक रहेको कार्यालयमा आगजनी गरेका थिए । सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । नेकपा एमालेको पार्टी कार्यालय निषेधित क्षेत्रमा पर्छ । सोही घट्नाहरूलाई ध्यानमा राखेर प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
यसअघि प्रशासनले गएको बुधबार दिउँसो १२ बजेदेखि अनिश्चितकालको लागि लगाएको निषेधाज्ञा कृष्णाष्टमी पर्वलाई लिएर गएको शुक्रबार १ बजे फिर्ता लिएको थियो ।
प्रतिक्रिया