नयाँ भवन पाएपछि विद्यार्थी खुसी

काठमाडौं, ३१ साउन । जिल्लाको दक्षिणी भेग शंखु–८ स्थित मगरगाउँमा पर्ने श्री कालीदेवी प्राथमिक विद्यालयको नयाँ भवन निर्माण भएपछि त्यहाँका स्थानीयवासी एवं विद्यार्थीमा खुसी छाएको छ ।

लगनखेलबाट करिब ३५ किलोमिटरको दुरीमा पर्ने सो विद्यालयको भवन गत वैशाख १२ गते गएको भूकम्पले ध्वस्त बनाएको थियो । विद्यालय भवन नहुँदा त्यहाँ अध्ययनरत विद्यार्थी अस्थायी भवनमा पढ्दै आएका थिए । ध्वस्त भवनको ठाउँमा आशाको ज्योति नामक संस्थाले तीन कोठाको नयाँ भवन निर्माण गरिदिएको थियो ।

उक्त संस्थाका अध्यक्ष नेपाली सिनेक्षेत्रका नायक आकास अधिकारीको पहलमा सो कार्य पूरा गरिएको थियो । नवनिर्मित भवनको हस्तान्तरण शनिबार एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले गरेका थिए । सो अवसरमा उनले भूकम्पका कारण ध्वस्त भएका संरचनाको पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरणको स्थापना भइसकेकाले तीव्र गतिमा काम अगाडि बढ्नेमा विश्वास व्यक्त गरे । उनले ललितपुर साँच्चिकै दुर्गम क्षेत्र रहेकाले दक्षिणी भेगलाई सूचनाको अधिकार दिनका लागि सञ्चार क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक निरोज लामाले विद्यालयको नयाँ भवन भएपछि निर्धक्क रूपमा विद्यार्थीलाई अध्यापन गराउन सकिने बताए । विद्यालय हस्तातरण कार्यक्रममा कलाकार दीपाश्री निरौला, शिव श्रेष्ठ, केदार घिमिरेलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया