‘धर्मनिरपेक्षताका लागि लडन तयार छौँ’

पाँचथर, २५ साउन । नेपाल आदिवासी जनजाति महासंघ पाँचथरले धर्म निरपेक्षताको पक्षमा आन्दोलन थालेको छ । धार्मिक स्वतन्त्रताको नाममा मुलुकलाई हिन्दूराज्य बनाउन राज्य उद्यत देखिएको भन्दै महासंघले जनआन्दोलनको उपलब्धिमध्ये धर्म निरपेक्षता कायम गराउन आन्दोलन थालेको हो ।
भावी संविधानमा धर्मनिरपेक्ष राष्ट्र उल्लेख गरिनुपर्ने महासंघले माग गरेको छ । विभिन्न धर्मावलम्बीको बसोबास रहेको मुलुकलाई एउटा धर्मको मात्रै राष्ट्र घोषणा गर्न नहुने भन्दै जसरी भए पनि धर्मनिरपेक्ष राष्ट्र कायम गरेर मुलुकलाई द्वन्द्वमा जानबाट रोक्नुपर्ने महासंघका अध्यक्ष बिर्खबहादुर वाइवाले बताए ।
महासंघद्वारा २१औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा जिल्लाको पूर्वी सीमाना कावेली नदीदेखी राँके बजारसम्म मोटरसाइकल ¥याली निकालिएको थियो । सो ¥यालीपछि सदरमुकाम फिदिममा भएको कोणसभालाई सम्बोधन गर्दै उनले अब कुनै पनि धर्मलाई प्रश्रय दिने खालको कानुनी व्यवस्था भए नचाहेरै भए पनि धार्मिक द्वन्द्व हुने चेतावनी दिए ।
बहुधार्मिक राष्ट्रलाई एकल धार्मिक राज्यको परिकल्पना गर्न नहुने उनको जोड छ । कोणसभालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य विजयविक्रम योक्पाङदेनले अब धार्मिक युद्धको सम्भावना बढेको धारणा राखे तर राज्यले धार्मिक समुदायबीच समन्वयकारी भूमिका खेलेको खण्डमा सो समस्या उत्पन्न हुने बताए । अब मुलुकलाई हिन्दूराज्य बनाएर भारतसँग गाभ्ने प्रयास गर्न नहुने उनको धारणा छ ।
आदिवासी जनजाति महासंघकै निर्वतनमान अध्यक्ष लोकेन्द्र आलेले सनातन हिन्दूराज्य र राजसंस्था ब्युँताउने चालबाजी भइरहेको र आफूहरू त्यसको विरुद्धमा सडकमा उत्रिने बताए । पापोहाङ लाओती संघका जिल्ला अध्यक्ष दिनेश लावतीले चार वर्ण छत्तीस जातको फूलबारीको नाममा आदिवासी जनजातिलाई राज्यले ‘तोरिबारीको इलामे झार’ बनाएको टिप्पणी गरे । सभामा विभिन्न जनजाति नेताहरूले धार्मिक स्वतन्त्रताको नाममा हिन्दूराज्य स्वीकार्य नहुने, अन्तर्राष्ट्रिय श्रम संगठन १६९ कार्यान्वयन गरिनुपर्ने, अपांग संविधान जारी गर्न नहुने भन्दै अब धर्मको नाममा मुलुकलाई धार्मिक द्वन्द्वमा लान नहुने बताएका थिए ।
युगौँदेखि उत्पीडनको सिकार बन्नुपरेको भन्दै उनीहरूले अब पुनः आदिवासी जनजातिले सम्झौताहीन मुक्ति आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
महासंघले यस वर्ष अन्तर्राष्ट्रिय आदिवासी दिवसलाई अधिकार प्राप्तिको आन्दोलनमा केन्द्रित गरेको छ । धार्मिक अधिकार प्राप्तिको एजेन्डालाई उचालेर सडक तताएको छ । महासंघका कोषाध्यक्ष रिन्जी शेर्पाले आदिवासी जनजाति समुदायले भन्दै आएको धर्म निरपेक्षताको सवालको विरुद्धमा प्रमुखदलहरू नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादीलगायत दलहरूले सहमति गर्ने लगभग निश्चित भएकाले दिवसलाई आन्दोलनमा बदल्नुपरेको बताए । उनले अब आन्दोलनलाई नरोक्ने समेत बताए ।

प्रतिक्रिया