पुस्तक विमोचनमा नेपाल भाषाको चर्चा

काठमाडौं, २५ साउन । नेवाः देय दवुका संरक्षक मल्ल के सुन्दरले देशमा भाषिक जातीय संस्कृतिको विकासका लागि त्रिभाषिक शिक्षा नीति हुनुपर्नेमा जोड दिएका छन् । उनले प्रत्येक जातिको बाहुल्य भएका ठाउँमा मातृभाषा, सम्र्पक भाषा र अन्तर्राष्ट्रिय भाषाको व्यवस्था भएमा भाषिक विवाद नरहने बताए ।
बेखाराम बलामीद्वारा लिखित पुस्तक ‘बलामी नेपाल भाषा’को विमोचन कार्यक्रममा उनले सो कुरा बताएका हुन् । समालोचक तथा इतिहासकार प्राडा चित्ररत्न मानन्धरले विभिन्न स्थानमा बोलिने नेपाल भाषाको ऐतिहासिक तथ्य खोजी गरी त्यसको जर्गेना र प्रवद्र्धनका लागि घर–घरमा बोल्नेलेख्ने गरी व्यवहारमा उतार्नुपर्ने धारणा व्यक्त गरे । नेवार आन्दोलनका अगुवा डा. महेशमान श्रेष्ठले पहिचानमा गौरव गर्नु र आपसमा सम्मान व्यक्त गर्दा भाषा, लिपि, संस्कृतिले फस्टाउने मौका पाउने विचार व्यक्त गरे ।
कार्यक्रममा भक्तपुरमा बोलिने नेपालभाषा विज्ञ कृष्ण प्रजापति, दोलखाली नेपालभाषा विज्ञ नरेन्द्र प्रधान र बलामी समाजका अध्यक्षसमेत रहेका मोहन बलामीले आ–आप्mनो क्षेत्रमा बोलिने नेपाल भाषा प्राचीन भएको दाबी गर्दै काठमाडौंमा बोलिने नेपाल भाषालाई सम्र्पक भाषाका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिएका थिए । बलामीद्वारा लिखित पुस्तक नेवार कला, संस्कृतिका शब्द चयन गरी प्रकाशित भएकाले पछिका पिँढीलाई मार्ग निर्देशन हुने उनले आशा व्यक्त गरे ।
नेपाली र अंगे्रजीसहित सो पुस्तक पाँच भाषामा प्रकाशित छ । बलामी एक योद्धा क्षेत्रीय जनाउने शब्दबाट बनेको जाति हो, बलामी भाषा फर्पिङ, नुवाकोट, कुलेखानी, थानकोट, इचंगु, बालाजुलगायत स्थानमा बोेलिने पुस्तकमा उल्लेख छ । पुस्तकमा लोपोन्मुख नेपाल भाषाका बलामी नाउहरू फलफुल, बिरुवा, जीवजन्तु, कविताका हरफ आदि चित्रसहित समेटिएका छन् ।

प्रतिक्रिया