उल्टो लहर

तराई र पूर्वी पहाडमा अपराधकर्ममै लिप्त भएका, हत्या, अपहरण, बलात्कार जस्ता भयंकर अपराध गर्दागर्दै पेशेवर भइसकेका जघन्य अपराधीहरूलाई राजनीतिक जामा पहि¥याइदिएर चोख्याउनका लागि ठीक ११ महिनाअघि सभासद् आनन्दप्रसाद ढुंगानाले निकै दौडधूप गरे । डरलाग्दा अपराधीलाई खोज्दै उनीहरूको बासस्थानसम्म पुगे । उनले मिहिनेत गरेअनुसार करिब पाँच सय अपराधीलाई आममाफी दिन सरकारले गृहकार्य सुरु गरेको छ । अपराधीहरूलाई आममाफी दिन नियमहरू बाधक हुने भएकाले त्यस्ता क्रुर अपराधीहरूका लागि नियमावलीलाई नै निलम्बन गर्ने मनस्थितिमा सरकार पुगेको छ । फौजदारी मुद्दा फिर्तासम्बन्धी कार्यविधि २०५५ तथा मुद्दा फिर्ता सम्बन्धमा सर्वोच्च अदालतका परमादेशहरूलाई समेत ठाडै कुल्चेर अपराधी भित्र्याउन सरकार तयार भएको छ । आठ÷नौ वर्षदेखि हाम्रा पार्टीका नेताले जे गर्दै आएका छन् त्यसको आलोकमा हेर्दा यी आततायीहरूको पक्षमा सरकारले जेपनि गर्न सक्ने देखिन्छ । आठ÷नौ वर्षको सिंहावलोकन गर्दा झलनाथ खनाल नेतृत्वको सरकारबाहेक सबै सरकारप्रमुखहरू अपराधीहरूकै पक्षमा काम गरिरहेका थिए । २०६३÷०६४ सालमा कोइराला नेतृत्वको सरकारले एक सय ३५ जघन्य अपराधीका मुद्दा फिर्ता लिएको थियो । प्रचण्ड नेतृत्वको सरकारले तीन सय ६७ भयंकर अपराधीका मुद्दा फिर्ता लियो । माधव नेपाल नेतृत्वको सरकारले चार सय २२ अपराधीका मुद्दा फिर्ता लियो । डा. बाबुराम भट्टराईले त रेकर्ड नै ब्रेक गरे । उनले अत्यन्तै एक हजार नौ सय ८० अपराधीका मुद्दा फिर्ता लिए ।
राज्यसञ्चालकहरू र पार्टीनेताहरू नै लाजघीन पचाएर अपराधी बोकेर हिँड्ने भएपछि यसको असर तलसम्म परेको छ । २०६७ साल चैतमा अरनिको राजमार्गका लुटेरालाई पक्राउ गरेर नेपाल ट्रक व्यवसायी संघका प्रथम उपाध्यक्ष अर्जुन सापकोटा जिल्ला प्रहरी कार्यालय, काभ्रेमा उजुरी गर्न गएका थिए । त्यहाँ उजुरी सुन्नु त कता हो कता डिएसपी रविन्द्र धानुकले उल्टै हप्काए । लुत्रुक्क परेर तिनै लुटेरासँग माफी माग्नुपरेको थियो । २०६८ सालमा ताकलुङ–३, गोरखाका यमबहादुर थापाले गोंगबु बसपार्क वरपरका व्यवसायीहरूसँग जबर्जस्ती फिरौती असुल गर्ने र गुन्डागर्दी गर्ने गरेकाले त्यहाँका जनता आतंकित थिए । थापाको विरुद्ध लगातार उजुरी आइरहेकाले प्रहरीले खोजी गरिरहेको थियो । त्यही बेलामा थापाले काठमाडौंका सिडिओ रत्नराज पाण्डेसँग साँठगाँठ ग¥यो । रत्नराज पाण्डेले जिएसजी–५ (२२ क्यालिबर) अर्धस्वचालित अत्याधुनिक जर्मनी बन्दुक राख्न अनुमतिपत्र प्रदान गरिदिए । जसले जनजीवनमा आतंक मच्चाइरहेछ, जसका विरुद्ध सयौँ उजुरी परेको छ, जसलाई प्रहरीले खोजी गरिरहेछ त्यसैसँग साँठगाँठ गरेर काठमाडौंका सिडिओले अत्याधुनिक बन्दुक राख्न अनुमति दिन्छन् भने र एउटा डिएसपीले लुटेरालाई प्रश्रय दिएर पीडितलाई उल्टै हप्काउँछन् भने यो दुस्साहसको स्रोत नेताहरूको अपराधी मोहबाहेक अरू हुनै सक्दैन ।
नेपालको दुःखद् विडम्बना के रह्यो भने जो लोकतन्त्रविपरीत कर्म, आचरण र व्यवहार गर्छ त्यसैले आफूलाई १ नम्बर लोकतन्त्रवादी दाबी गर्छ । संसारलाई थाहा छ, लोकतान्त्रिक देशमा कुनै पनि घटना आपराधिक हो वा होइन भनेर अदालतले मात्र निक्र्यौल गर्न सक्छ । कुनै पनि लोकतान्त्रिक राज्य विधिको अधिनस्थ रहन्छ र सिस्टमअनुसार चल्छ । हाम्रा नेता डामेर छाडेका साँढे भएका छन् । सनकमा चल्छन्, तर लोकतन्त्रका नारा फलाक्छन् । उनीहरूलाई थाहा छ, उनीहरू लोकतन्त्रविपरीतका काम गरिरहेछन्, त्यसैले उनीहरू दिनरात लोकतन्त्रको नारा फलाकिरहन्छन् । उनीहरू लोकतन्त्रको नारा त चर्कै लगाउँछन् तर लोकतान्त्रिक मूल्य, मान्यता तथा लोकतान्त्रिक संस्कृति र संस्कार भनेको के हो ? त्यो उनीहरूलाई रत्तिभर थाहा छैन ।
लोकतन्त्रको आवरणमा जब नेताहरूले नै लोकतन्त्रविरोधी कर्म गर्छन् तब यसबाट उत्पन्न हुने प्रभाव, असर र नतिजालाई स्यामुयल पी. हटिङटनले ‘रिभर्स वेभ’ अर्थात् ‘उल्टो लहर’ भनेका छन् । आफूलाई लोकतान्त्रिक दाबी गर्ने सरकार सर्वसत्तावादी बन्नु, सरकार र नेताहरूले वैधानिकता गुमाउँदै जानु, लोकतन्त्रका आधार निर्माण नहुनु तथा सर्वसत्तावादी जातीय उन्माद र साम्प्रदायिक अधिनायकवादलाई हटिङटनले ‘थर्ड रिभर्स बेभ’ अर्थात् ‘तेस्रो उल्टो लहर’ का कारण भनेर औँल्याएका छन् ।
हाम्रा नेताहरूले राष्ट्रलाई उल्टो लहरतिरै डो¥याएका छन् । हामीले त्यसैलाई रोजिसक्यौँ । हामी ढुक्कैसँग त्यता कुदिरहेछाँै । अब हामीलाई कसैले रोक्न सक्दैन ।

प्रतिक्रिया