दुबईमा फिस्टेल कन्सर्ट हुने

sushma_karki2काठमाडौं । आगामी ३१ जुलाईमा दुबईमा फिस्टेल कन्सर्ट हुने भएको छ । कार्यक्रमका लागि अधिकांश कलाकार दुबई पुगिसकेका छन् ।

कार्यक्रमका लागि सुशील नेपाल सोमबार नै दुबई पुगिसकेका छन् । आज (बुधबार) नायिका सुष्मा कार्की, गायक सुगम पोखरेल र डान्सर आस्मा पाण्डे दुबई पुग्ने कार्यक्रम छ । त्यस्तै, बिहीबार हास्यकलाकार निरु खड्का ‘निर्मली’ दुबई पुग्दै छिन् भने नायक विष्णु कार्की सोही दिन कतारबाट युएई भित्रिँदै छन् । उक्त कार्यक्रमको सञ्चालन इमेज च्यानका सुशीलले गर्ने भएका छन् ।
आगामी शुक्रबार साँझ दुबईको देरास्थित एसियाना होटलको नाइट क्लबमा आयोजना हुने उक्त कन्सर्टमा नेपाली कला, संगीत, व्यंग्य, मोडलिङ क्षेत्रका चर्चित हस्तीहरूको जमघट हुनेछ । कलाकारहरूको आगमनसँगै कन्सर्टको सरगर्मी नेपाली समुदायमाझ दुबईमा बढेको छ ।
कार्यक्रमको मुख्य आकर्षण नेपाली नायिका सुष्मा कार्की रहने छिन् । छुनलाई होइन, हेर्नचाहिँ पाइन्छ, उध्रेको चोली छ है तैपनि लाइन्छ‘.. भन्दै हट नृत्य पस्किने सुष्माको उध्रेको चोली हेर्न भने सीमित दर्शकहरूले मात्र पाउनेछन् । फाइभस्टार होटलको नाइट क्लबको भिआइपी तथा अत्यधुनिक लाइटिङ सिस्टम रहेको मञ्चमा कार्यक्रम हुने आयोजकले जनाएका छन् ।
लोकप्रिय डिजे र र्‍यापर्सहरूको दमदार प्रस्तुति रहने सांगीतिक कार्यक्रमको अन्तिम तयारी भएको आयोजनाले बताएको छ । कार्यक्रममा पपगायक सुगम पोखरेल, नायक विष्णु कार्की, नायिका सुष्मा कार्की, हास्यकलाकार निरु खड्का ‘निर्मली’ ले फिस्टेल कन्सर्टमा सहभागिता जनाउने भएका छन् । जसका कारणले पनि दुबईको सांगीतिक वातावरणमा सरमागर्मी बढेको बताइएको छ ।
कतार, नेपाल र युएईका गरी एकदर्जन नेपाली कलाकारले उक्त कार्यक्रममा आफ्नो प्रस्तुति गर्नेछन् । पोखरामा सम्पन्न गोल्डेन डान्स आइडलमा फस्ट रनर अप भइसकेकी आस्मा पाण्डे टिनएजर्स डान्सरका रूपमा आउने भएकी छिन् । पाण्डेले कार्यक्रममा अत्यधुनिक रोचक डान्स गनेर्छिन् ।
युएईको नेपाली ट्राभल व्यवसायमा अब्बल तथा गुणस्तरीय सेवा दिइरहेको लोकप्रिय ग्रुप ग्रिनलाइनको फिस्टेल ट्राभलको मुख्य स्पोनसरसिपमा सेन्चुरी कमर्सियल बैंकको सेन्चुरी रेमिट, जिआरटी टेडिङ, ग्लोबल ब्रिज कन्सल्टेन्सी, सिल्भर स्पुन नेपाली रेस्टुरेन्टले फिस्टेल कन्सर्टमा सहस्पोन्सरका रूपमा सहकार्य गरिरहेका छन् ।

प्रतिक्रिया