स्वास्थ्य चौकीका लागि निःशुल्क जग्गा प्रदान

खोटाङ, ११ साउन । खोटाङका दुई समाजसेवीले स्वास्थ्यचौकीको भवन निर्माणका लागि १५ लाख बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् ।

धितुङ–३ का शिवराज राई र रणशेर राईले स्वास्थ्य चौकीको भवन निर्माणका लागि पाँच रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन् ।

शिवराजले चार रोपनी र रणशेरले एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको स्वास्थ्य चौकी धितुङका सिनियर अहेब शिवकुमार साहले बताए । उनले भने, “भर्खरै स्तरोन्नति भएको स्वास्थ्य चौकीका लागि जग्गा अभावमा भवन निर्माण गर्न सकिएको थिएन, उहाँहरूबाट प्राप्त जग्गामा यसै वर्ष भवन निर्माण गर्ने तयारी गरेका छौँ ।”

धितुङ–३ स्थित हलेसी–धितुङ–रेग्मीटार जोड्ने सडकखण्डमा पर्ने जग्गा आइतबार जिल्ला मालपोत कार्यालयमार्फत स्वास्थ्य चौकीको नाममा उहाँहरूले रजिस्ट्रेसन पास गरिदिनुभएको स्थानीय गणेश कार्कीले बताए ।

उनले भने, “उपस्वास्थ्य चौकीका लागि निर्माण गरिएको भवन भूकम्पले क्षति पु-यायो, उक्त भवन कामै नलाग्ने भएपछि नयाँ भवन निर्माण गर्न उहाँहरूले सबैको आग्रहमा निःशुल्क उपलब्ध गराउनुभएको हो ।”

उक्त स्वास्थ्य चौकीमा दैनिक सरदर ५० जना सेवाग्राही आउने गरेको स्वास्थ्यकर्मीले जनाएका छन् । स्वास्थ्य चौकीमा धितुङबाहेक अर्खौले, राजापानी, दुर्छिम, हलेसी महादेवस्थान र उदयपुरका केही गाविसका सेवाग्राही आउने गरेका छन् ।

प्रतिक्रिया