शिक्षालयमा विपत् युनिट अनिवार्य

काठमाडौं, ११ साउन । शिक्षा विभागले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म सबै संकायमा भूकम्पसम्बन्धी युनिट अनिवार्य राख्ने तयारी गरेको छ ।

महाभूकम्पले शैक्षिक क्षेत्र तहसनहस बनाएपछि सरकारले विद्यालय शिक्षाका लागि तयार गरेको नयाँ योजनामा भूकम्पसम्बन्धी युनिट अनिवार्य राख्ने तयारी गरेको हो ।
शिक्षा विभागले विद्यालयका संरचना, पाठ्यक्रम तथा शैक्षिक सामाग्री वातावरण सुहाउँदो नभएकै कारण बेलाबेलाको प्राकृतिक विपत्मा धेरै क्षति बेहोर्नुपरेको ठहर गरेको छ । विपत् जोखीम न्यूनीकरणसम्बन्धी विषयवस्तु पाठ्यक्रममा नहुँदा जनधनको क्षति बढेको शिक्षा विभागको ठहर छ । अब बन्ने शैक्षिक योजनामा विपत् जोखीमसम्बन्धी विषयवस्तु सामावेश गर्न लागेको शिक्षा विभागका निर्देशक खगेन्द्र नेपालले बताए ।
अबका दिनमा निमार्ण हुने विद्यालय स्कुल म्यापिङअनुसार निर्माण गरिने विभागको तयारी छ । ‘समुदाय तथा वातावरण सुहाउँदो स्थानमा निर्माण गर्नुपर्ने र पाठ्यपुस्तक पनि परिमार्जन गर्ने सोचमा सरकार पुगिसकेको छ,’ निर्देशक नेपालले भने ।
विद्यालय भवनहरू ठूलाठूला तथा कमजोर प्रकृतिका हुने भएकाले धेरै क्षति भएको ठहर गर्दै सरकारले अब भने विद्यालय भूकम्प प्रतिरोधी र सानाखालका बनाउने तयारी पनि थालेको छ । बालबालिकाका लागि पढ्न तथा खेल्न सहज हुने खालका भौतिक संरचना निर्माण गर्ने गरि योजना बनाउन सुरु गरिएको शिक्षा बिभागले जनाएको छ । शिक्षा विभागले विद्यालयको अस्थायी कक्षाकोठा निमार्ण गर्दा पहिरोमा नपर्ने, जमिन नभास्सिने तथा बालबालिकालाई समस्या नहुने स्थानमा विद्यालय निमार्ण गर्न जिल्ला शिक्षा कार्यालयहरूलाई निर्देशनसमेत दिइसकेको छ ।
पाठ्यक्रममा नै प्राकृतिक विपत्तिमा आइलाग्ने सम्भावित खतरा कसरी टार्ने भन्ने खाले जानकारीहरू नहुँदा बालबालिका अलमलिएको ठहर गर्दै सरकारले अब भने देशको वातावरण सुहाउँदो, संरचना सुहाउँदो पाठ्यक्रम निमार्णमा ध्यान दिने भएको छ । सरकारी तथा गैरसरकारी संस्थाले भूकम्पबाट जोगिन समुदायमा सिकएको जानकारीले काम नगरेको नेपालले बताए । भूकम्प आउँदा टेबल, खाटमुनि टाउको लुकाउनुपर्छ भन्ने सूचनाले धेरैले ज्यान गुमाउनुपरेको निष्कर्ष निकाल्दै शिक्षा विभागले भूकम्पको विषयलाई पाठ्यक्रममा नै समावेश गर्ने तयारी गरेको निर्देशक नेपालले बताए । अब दीर्घकालका लागि विद्यालय निमार्ण गर्दा स्कुल म्यापिङमा जाने विभागको तयारी छ ।

प्रतिक्रिया