काठमाडौं, १० साउन । आफ्नो सिर्जना–यात्रालाई गाउँको दिगो विकाससँग जोडेकी गीतकार पद्मा लिंखा मगरले एकसाथ ३ कृति बजारमा ल्याएकी छन् । विन्ध्यवासिनी म्युजिकले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गीतकार पद्माका यी कृतिको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, गीतकार किरण खरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य श्रवण मुकारुङ, संगीतकार राजु सिंह र रेडियोकर्मी रमेश पौडेलले संयुक्त रूपमा विमोचन गरे ।
यीमध्ये गीति एल्बम ‘नजर २’को बजार व्यवस्थापन विन्ध्यवासिनीले गरेको छ । यस्तै, गीत संग्रह ‘इन्द्रेणी’ र गजल संग्रह ‘उज्यालोको खोजी’ शब्दहार क्रिएसनले बजारमा ल्याएको हो ।
‘नजर २’ एल्बममा ‘ऋतु हेर्ने यो नजरको’, ‘मनको दैलो’, ‘एक्लो पारी गयौ तिमी’, ‘नियतिको छालमा बग्दै’, ‘चोखो मन र सिन्दुरमा र लिँदै छु बिदा’ बोलका गरी ६ वटा गीत सुन्न सकिन्छ । यी गीतमा क्रमशः राजेश थापा, राजकुमार बगर, बिबी अनुरागी, सन्तोष श्रेष्ठ, राजेशकै संगीत तथा राजेशपायल राई, अञ्जु पन्त, स्वरूपराज आचार्य, बानिका प्रधान, रजिना रिमाल र दीपक लिम्बू अनि रजिनाकै स्वर समेटिएको छ । त्यस्तै, ‘नियतिको छालमा बग्दै’ बोलको गीतमा मेल भर्सनमा कृष्णभक्त राईले स्वर दिएका छन् । ‘उज्यालोको खोजी’मा ८० वटा गजल र ‘इन्द्रेणी’ मा ९३ गीत संग्रहित छन् ।
संखुवासभाको माम्लिङ जन्मघर भई रूकुमको झुम्लावाङलाई कर्मघर बनाए पनि केही वर्षयता अमेरिकाको न्युयोर्कमा बस्दै आएकी पद्माको गीति एल्बम बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम झुम्लावाङमा सञ्चालित सामुदायिक स्वास्थ्य केन्द्र निर्माण तथा सञ्चालन कोषलाई प्रदान गरिने भएको छ । गजल संग्रह र गीत संग्रहको बिक्रीबाट प्राप्त हुने रकम झुम्लावाङकै प्रस्तावित श्री निम्न माध्यमिक विद्यालयको पुस्तकालय स्तरोन्नतिका लागि हस्तान्तरण गरिने लेखिकाले सन्देशमार्पmत जनाएकी छन् । ‘परिस्थिति र बाध्यताले विदेशी भूमिमा जीवनयापन गरिरहे पनि हरपल स्वदेशको सम्झना नै साथमा हुनेछ,’ उनले सन्देशमा भनेकी छन् ।
यसअघि गत कात्तिकमा पहिलो एल्बम नजर बिक्रीबाट प्राप्त सात लाख १३ हजारभन्दा बढी रकम दिगो विकासको क्षेत्रमा उदाहरणीय गाउँ बनाउने अभियानमा समर्पित संस्था झुम्लावाङ गाउँ संस्थापना (जेभीएफ)लाई स्वास्थ्य केन्द्रकै कोषमा जाने गरी हस्तान्तरण गरिएको थियो । यस रकमबाट प्राथमिक उपचार सेवा दिन नियुक्त दुई कर्मचारीलाई दुई वर्ष पारिश्रमिक पुग्ने उक्त संस्थाले जनाएको छ । पहिलो एल्बमको बिक्रीबाट प्राप्त थप रकम एक लाख पाँच हजारसमेत आज हस्तान्तरण गरियो । उक्त एल्बमलाई निष्ठा म्युजिकले ०७० असार ८ गते औपचारिक रूपमा बजारमा ल्याएको थियो ।
कुलपति सरुभक्तले विदेशमा बसेर गाउँको विकासका लागि यत्रो कार्य गर्नु उल्लेखनीय घटना भएको टिप्पणी गर्दै नेपालीहरू अन्तर्राष्ट्रिस्तरमा पैmलिँदै गएको बताए । उनले भने, ‘हाम्रो भाषा, साहित्य तथा गीतसंगीतको अन्तर्राष्ट्रियस्तरमा विकास भइरहेको छ । यही क्रममा पद्माले विदेशमा बसेर गरेको राष्ट्रप्रतिको समर्पण उल्लेख्य कार्य हो ।’
प्राज्ञ मुकारुङले कृतिको समीक्षा गर्दै गाउँको विकासमा यत्रो ठूलो कार्य गर्नु नेपालमा रहेका स्रष्टाबाट असम्भव रहेको उल्लेख गर्दै विदेशमा रहेका नेपालीले अभियान नै चलाएका कारण सम्भव भएको बताए । ‘विदेशमा रहेका नेपालीले अभियान नै चलाएका कारण यत्रो कार्य सम्भव भयो भन्ने लाग्छ मलाई,’ उनले भने, ‘त्यससँगै गीत संग्रहमा समेटिएका सिर्जना काव्यिक पनि छन् ।’ त्यस्तै, संगीतकार सिंहले नजर–२ मा समेटिएका गीतहरू उत्कृष्ट रहेको सुनाउँदै ‘प्रयोग’ गरिएका गीत पनि समावेश रहेको टिप्पणी गरे ।
कार्यक्रममा एल्बममा समेटिएका तीन गीतको भिजुअल सार्वजनिक गरिएको थियो । तीन वटै म्युजिक भिडिओको निर्देशन सुवास रेग्मीले गरेका हुन् । उनले यो एल्बम समाजसेवाको पवित्र उद्देश्य राखी बजारमा ल्याइएको जानकारी दिए ।
०६६ मंसिर ३ गते स्थापित जेभिएफले झुम्लावाङलाई ‘नमुना गाउँ’ बनाउनका लागि शिक्षा, स्वास्थ्य, सामाजिक–सांस्कृतिक तथा आर्थिक विकासको क्षेत्रमा स्वदेशी÷विदेशी स्वयंसेवकको सहकार्यबाट विभिन्न काम गरिरहेको जनाइएको छ । यस संस्थाको मुख्य उद्देश्य दिगो विकासको क्षेत्रमा उदाहरणीय काम गरी झुम्लावाङ मात्र होइन, यस्ता अन्य गाउँवासीलाई प्रेरित गर्नुरहेको बताइएको छ । संस्थाका अनुसार ०६७ कात्तिकमा स्वास्थ्य केन्द्रको भवन निर्माण सुरुआत गरिएकोमा ०६८ भदौमा पहिलो चरणको काम सम्पन्न भएको थियो । ०६९ कात्तिकदेखि प्राथमिक उपचार सेवा प्रारम्भ गरिएकोमा तीन वर्षभित्र दोस्रो चरणको भवन निर्माण सम्पन्न गरी १० वर्षभित्र १५ शैयाको अस्पताल निर्माण तथा सञ्चालनका लागि पूर्वाधार तयार गर्ने लक्ष्य छ ।
प्रतिक्रिया