मित्लाजुङ डाँडाले जन्माएका गायक

anil-thulung-1काठमाडौं, ५ साउन । अनिल थुलुङ सांगीतिक क्षेत्रमा संघर्षरत तर भविष्य बोकेका एक स्रष्टा हुन् । माथि उभिएको मित्लाजुङ तल बगेको धँवा खोला । यही भूगोलको बीचमा जन्मेका गायक हुन्, अनिल । अनिलले आफ्नै बाबा नन्दकुमार राईसँगै नाटकमा अभिनय गरेका छन् । त्यसबेला सायदै कसलाई लागेको थियो होला अनिल एक दिन गायक बन्छ भनेर । तर, परिस्थितिले अनिललाई गायक बनायो ।

‘बैगुनी छौ भनौँ भने आँखा तिमी जुधाउँछौ, मायालु हौ भनुँ भने माया लुकाउँ छौ’ बोलमा रहेको राम थापाको संगीत तथा प्रकाश श्रेष्ठ स्वरमा रहेको पुरानो गीतलाई पहिलोपटक रिमिक्स गरेर रेकर्ड गराए अनिलले । त्यसो त अनिल आफँैमा एक ऊर्जाशील गायक हुन् ।
पाँचथरको आरुबोटे–७ मा जन्मिएका थुलुङले स्थानीय चन्द्रोदय मावि (हाल प्रावि) मा प्राथमिकस्तर पढेका हुन् । अनिलका बाबा पनि अति रसिक छन् । सधैँ हसाइराख्ने उनको बानीले नाटकमा छोरालाई पनि तान्यो, उसबेला । कुन बाबुले भन्छ, छोराले धन नकमाइ बसोस् । तर, नन्दकुमारलाई यो कुराको चिन्ता भएन र लगे छोरालाई नाटक खेलाउन स्थानीय रंगमञ्चमा अनि अभिनय गरे बाबु छोराले सँगसँगै, लक्ष्मी चाम्लिङले लेखेको ‘जन्म जन्ममा’ नाटकमा ।
स्थानीय आरुबोटेबाट एसएलसी पास गरेका अनिल उच्चशिक्षाका लागि धरान झरेर गायन क्षेत्रमा प्रवेश गरे । त्यसो त त्यसबेलासम्म अनिल गाउँमा देउसी–भैलोका चल्ती गायक र बिहेबटुलका अब्बल सांगीतिक प्रस्तोता भइसकेका थिए ।
संगीतमा परिश्रम गर्ने अनिलले संगीतका लागि धरान र विराटनगरमा समेत गल्ली–गल्ली घुमेका छन् । विराटनगरको गुरुकुलमा संगीत सिकेका थुलुङले ड्रिम (सपना) एकल गीति एल्बम लिएर डेब्यु गरेका छन् । आफ्नो बाबा नन्दकुमार राईको प्रेरणाले कलाकारितामा प्रवेश गरेका उनी हरदम अभिभावकको इच्छाअुनसार अगाडि बढेको बताउँछन् ।
आफ्नो गीतको भिडियो बनाउने तयारीमा रहेका थुलुङको ‘टुनामुना लगायौ कि’ बोलको गीत बजारमा चलेको गीत हो । कवि श्रवण मुकारुङ, नरेश भट्टराई, विनोद खम्बु, अनिल थुलुङ आफ्नै रचनामा रहेको पाँचवटा गीत समेटिएको एकल एल्बमको शीर्षगीतको भिडियो निर्माणको तयारीमा रहेका थुलुङले सांगीतिक क्षेत्र नै आप्नो प्यासन भएकाले जीवनभर सांगीत साधनामै व्यस्त रहने खुलाए ।

प्रतिक्रिया