राजेन मोक्तानको : मन मेरो

K-N-Dahalराजेन मोक्तान अपरिचित नाम होइन । साहित्यिक कथाकारिताका क्षेत्रमा तर अल्छे नाम चाहिँ पक्कै हो । यति राम्रो कथाशिल्पी भएको मान्छे कम चर्चामा । उनको दोस्रो कथाकृति– मन मेरो हालसालै प्रकाशित भएर साहित्यबजारमा देखापरेको छ ।
चौधवटा फुटकर कथाको सँगालोका रूपमा देखापरेको यस कृतिभित्रका हरेक कथा सुरु गरेपछि नसकिउञ्जेल छोड्न मन लाग्दैन । साना विषयवस्तुमै केन्द्रित रहेर पनि पाठकमा उत्सुकताको सिर्जना गर्न–गराउन उनी सफल देखिन्छन् । जसलाई हामी पैवास भन्छौँ अर्थात् नेपाली भाषा विकासका पहिला र प्रथम क्षेत्रहरू– दार्जिलिङ, कालिङपोङ, सिलगढी, खार्साङ, सिक्किम, कलकत्ताका केही भाग तिनकै सेरोफेरोमा घुमेका देखिन्छन् मोक्तानका यस कृतिका पात्रहरू । अझ ‘म’ पात्रको केन्द्रियतामा रहेका अधिकांश कथाले जीवनका व्यथा उतारेका छन् । लक्ष्यप्रतिको असफलता, दैवी–प्राकृतिक मारबाट पारिवारिक परिवेशमा देखापर्ने विछोड, मनोचञ्चलताकै कारणस्वरूप व्यक्तिमा देखापरेका बेचैनी, फट्याइँका मारबाट आहत सोझासाझा व्यक्ति मनोग्रन्थीमा उत्पन्न तनावशान्तिका लागि प्रयोग गरिने मादक पदार्थबाट अझ बढी विसंगत बन्दै गरेका व्यक्ति मनोविज्ञानको ऐना बनेको छ– मोक्तानको यो कथासंग्रह ।
पश्चिमी, पूर्वीय र आफ्नै परिवेशको सांस्कृतिक समन्वयको त्रिवेणी बनेर देखापरेको यस सामाजिक अनि व्यावहारिक जीवन यथार्थको झलक नै राजेन मोक्तानको यस कथाको मर्म हो । स्थानीय भाषिक प्रयोगले पनि कथामा आकर्षण उत्पन्न गराएको छ । त्यस सेरोफेरोको सर्वांग पक्षको संकेतका लागि त यो कृति अझ पठनीय अनि संग्रहणीय बनेको छ । यति राम्ररी कथाकारितामा कलम चलाएका राजेन मोक्तान शीघ्रातिशीघ्र र अरू–अरू कथाकृतिमा पनि उदाऊन्, हार्दिक शुभेच्छा ।

कृति : मन मेरो
लेखक : राजेन मोक्तान
मूल्य : भारु १२०
प्रकाशन : प्रमिथस प्रकाशन, सेभेन ओक्स, रोज व्यांक, दार्जिलिङ
प्रकाशन मिति : इ.सं. २०१४
पृष्ठ संख्या : १२३ + ९ . १३२

प्रतिक्रिया