बन्द हुने अवस्थामा चिज र छुर्पी उद्योग

cheese-rasuwaइलाम । पूर्वी नेपालका विभिन्न जिल्लामा सञ्चालित चिज तथा डेरी उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।

यहाँ स्थापित उद्योगले किसानको दूध संकलन गरेर घ्यू र छुर्पी उत्पादन गर्दै आए पनि उत्पादित वस्तुले बजार नपाउँदा बन्द हुने अवस्थामा पुगेको हो । उत्पादित वस्तुको ठूलो बजार काठमाडौं भएको र त्यहाँ भूकम्पले क्षति पुर्‍याएपछि बजार नपाएको उद्योगीहरूको गुनासो छ । पूर्वका किसानको मुख्य आयस्रोत भनेको चिज, छुर्पी र घ्यू रहे पनि बिक्री गर्ने ठाउँ नहुँदा उद्योगमा समस्या आएको किसानको गुनासो छ ।
हाल इलाम र पाँचथरका उद्योगीहरू संगठित हुँदै हिमालयन चिज उत्पादक संघ नै गठन गरेका छन् । तर यसको मुख्य बजार भूकम्पले क्षति पु¥याएपछि ठूलो समस्या आएको व्यापारी तोया महतको भनाइ छ । इलाम सुलुबुङका विनोद खतिवडाले एक वर्षअघि खतिवडा पशुपालन तथा डेरी उद्योग सञ्चालन गरेका थिए तर अहिले उत्पादित वस्तुले मूल्य नपाउँदा किसानलाई दूधको मूल्य भुक्तानी गर्नसमेत समस्या भएको बताए ।
दैनिक करिब तीन सय लिटर दूध संकलन गर्दै आएका खतिवडाले भूकम्पका कारण बजार नपाएको गुनासो गरे । ‘सुरुमा तेस्रो मुलुक अमेरिका छुर्पी निकासी गर्दै आएका थिएँ,’ उनले भने, ‘नेपालको छुर्पीले राम्रै मूल्य पाउँथ्यो । अहिले त्यहाँसम्म लैजान समस्या आएको छ ।’ पूर्वीपहाडी जिल्लाका उद्योग बन्द हुन थालेपछि दूध बेचेर घर खर्च चलाउँदै आएका किसान निरास बनेका छन् । एक वर्षअघि पाँचथर र इलामका २४ वटा दूध डेरी उद्योगका सञ्चालकहरूले हिमालयन चिज उत्पादक संघ नै गठन गरेर गुणस्तरीय दूधजन्य पदार्थ उत्पादन गर्दै आए पनि बिक्री नहुँदा संघकै औचित्य हराएर जाने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।
संघमा करिब सात सय जना किसान आबद्ध भएर प्रतिदिन २० हजार लिटर दूध संकलन गर्दै आएका छन् । उद्योगबाट दैनिक करिब दुई हजार किलो चिज तथा पाँच सय किलो घ्यू उत्पादन हुँदै आएको बताइएको छ । त्यहाँ काम गर्ने कर्मचारीको समेत अहिले रोजीरोटी गुम्ने अवस्था पुगेको छ । दैनिक एक हजार पाँचदेखि दुई हजार लिटरसम्म दूध संकलन गर्दै आएका इलाम पशुपतिनगरका टुलु शेर्पाले सम्बन्धित निकायले पहल गर्नसके समस्या समाधान हुने बताए । (सौस)

प्रतिक्रिया