जानकी मेडिकल कलेजलाई कारबाही गर : संसद

काठमाडौं, २७ असार । व्यवस्थपिका–संसद्, सामाजिक न्याय तथा मानव अधिकार समितिले जनकपुरको जानकी मेडिकल कलेज सञ्चालनमा देखिएको अवरोधबाट सिर्जित समस्याको अविलम्ब समाधान गर्न निर्देशन दिएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले पीडित विद्यार्थीको अध्ययन प्रक्रिया सुचारु गरी १० दिनभित्र समितिलाई जानकारी दिन शिक्षा मन्त्रालय, इन्टिच्युट अफ मेडिसिन (आइओएम) र मेडिकल काउन्सिललाई निर्देशन दिने निर्णय गरेको हो ।

विगत १० महिनादेखि अध्ययन–अध्यापन प्रक्रिया अवरुद्ध भई सो कलेजका ३१७ विद्यार्थीको भविष्य अन्योलग्रस्त बन्न पुगेको छ ।

विगत १० महिनादेखि सञ्चालन हुन नसकी पठनपाठन प्रक्रिया अवरुद्ध रहेको उक्त कलेजका सञ्चालकलाई अविलम्ब कारबाहीको प्रक्रिया अघि बढाई पीडित विद्यार्थीलाई समुचित क्षतिपूर्तिको व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देश दिइएको समितिले जनाएको छ ।

समितिले देशका सम्पूर्ण मेडिकल कलेजको सम्बन्धन र सञ्चालन प्रक्रियामा देखिएका समस्याको अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्न पाँच सदस्यीय कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया