नगरपालिका हिलाम्मे, सवारी साधन बन्द

going-schoolभक्तपुर, २४ असार । भूकम्पले भग्नावशेषमा परिणत गरिदिएको भक्तपुर नगरपालिका क्षेत्रमा सवारी साधनको आवतजावत बन्द छ ।

सडकभरि थुपारिएको माटोका कारण विद्यालय जानदेखि सरकारी कार्यालयमा जानआउनसमेत निकै कठिनाइ भएको छ ।

भत्किएका घरको भग्नावशेष हटाउने क्रममा सडक सडकमा थुप्रिएको माटो र भग्नावशेषका सामग्रीका कारण नगरक्षेत्रमा सवारी साधन आवतजावत पूर्ण रुपमा बन्द भएको छ भने पैदल हिँड्नसमेत निकै कठिनाइ भोग्नुपरेको छ ।

नगरभित्रका गल्ली मुख्य सडकमा माटो थुप्रिने क्रम बढेपछि सडकमा रोपाइँ गर्न मिल्ने गरी हिलो भएपछि नगरभित्रका विद्यालय र सरकारी कार्यालयमा काम लिएर आउने सेवाग्राही प्रभावित भएका छन् ।

नगरभित्र प्रवेश गर्ने च्यामासिंह, ब्यासी, खौमा र सूर्यविनायक चारैवटा नाकाबाट नगर क्षेत्र छिर्ने क्रममै हिलाम्मे भएपछि विशेष गरी विद्यालय जाने विद्यार्थी प्रभावित भएका छन् ।

नगर क्षेत्रमा सानाठूला सवारी साधन छिर्नै नसक्ने भएपछि कतिपयले आफ्नै घरमा समेत सवारी साधन लान सकेका छ्रैनन् ।

भक्तपुर दरबारस्क्वायरस्थित श्रीपद्मा उच्च माविका प्राचार्य राम हाडाले नगर क्षेत्रमा चौतर्फी रुपमा सडक हिलाम्मे भएपछि विद्यार्थीलाई विद्यालयसम्म आउन पनि निकै कठिन भएको बताए ।

विद्यालय आइपुग्दा कतिपय विद्यार्थीको पोसाक नै हिलाम्मे हुने, जुत्ताभित्र हिलो पस्ने समस्याले विद्यार्थीसमेत घट्दै गएको विद्यार्थी निकेतन उमाविका सहप्रधानाध्यापक सुरेश प्रजापतिले बताए ।

नगरभित्रको विद्यालयमा जानै नसक्ने अवस्था आएपछि शारदा उमाविमा अध्ययनरत आफ्नो छोरीलाई दुईदिनदेखि विद्यालय नै नपठाएको भक्तपुर सूर्यमढीकी नानीमाया श्रेष्ठले बताइन् ।

भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत उद्धव रिजालले नगरपालिकाले भग्नावशेष हटाउने क्रममा दैनिक ४० वटा ट्रक परिचालन गरेको भए पनि पछिल्ला दिनमा ठूलो वर्षाका कारण समस्या आएको बताए ।

सडक हिलाम्मे भएकाले हिँडडुल गर्न कठिनाइ भएको स्वीकार्दै उनले पानी रोकिएलगत्तै पुनः ट्रक परिचालन गरेर भग्नावशेष हटाइने बताए ।

प्रतिक्रिया