काठमाडौं, २३ असार । साना किसान विकास कार्यक्रमले गरिबी निवारणका लागि महत्वपूर्ण योगदान पुर्याएको छ । साना किसान विकास बैंकको १४औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले साना किसान सहकारी कार्यक्रमको माध्यमबाट गरिबी निवारण कार्यक्रमलाई सफल पार्न सकिने बताएका हुन् ।
हाल नेपालमा ६६ प्रतिशत जनसंख्या कृषिमा आधारित रहेका छन् । कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३३ देखि ३५ प्रतिशत मात्रै रहेको छ । गरिबीको ७५ प्रतिशत जनसंख्या यही क्षेत्रमा रहेको गभर्नर नेपालको भनाइ छ । यान्त्रिकीकरणका साथै सहकार्य खेती प्रणालीको माध्यमबाट कृषिमा आधुनिकीकरण गर्न सकिने जानकारी नेपालले दिए ।
बैंकले कृषकलाई सहकारीमा आबद्ध गराई कृषि ऋण तथा तालिमको व्यवस्था गरिरहेको छ । यसरी कृषिमा लगानी गरेर आय आर्जनका क्षेत्र बढाउन सकेको खण्डमा आगामी दिनमा यसक्षेत्रको बेरोजगारी घट्ने तथा अर्थतन्त्रमा पनि सुधार आउने दाबी नेपालको थियो । रोजगारीको नाममा विदेश पलायन भएका युवा जनशक्ति पनि स्वदेश फर्कने विश्वास उनले व्यक्त गरे । ०३३ सालदेखि नेपालमा साना किसान विकास कार्यक्रम सञ्चालनमा आएको हो । यस कार्यक्रमको विकास र सञ्चालनमा सहयोग पु¥याउन ०५८ सालमा साना किसान विकास बैंकको स्थापना भएको हो । स्थापना कालदेखि हालसम्म यस बैंकले २५ अर्ब ६३ करोड लगानी गरिसकेको छ । यसको माध्यमबाट हालसम्म पाँच लाख किसानले लाभ लिइसकेका छन् । भाखा नाघेको ऋण एक प्रतिशतभन्दा कम रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले बताए ।
यस बैंकले सहकारीमा आबद्ध किसानलाई सहुलियत दरमा कृषि ऋण प्रदान गर्दै आइरहेको छ । दुई चरणमा गरी बैंकले हालसम्म सात सय २० जना विद्यार्थीलाई तालिमका लागि इजरायल पठाइसकेको छ । तेस्रो चरणमा पाँच सयलाई पठाउने योजना रहेको शर्माले जानकारी दिए । तालिम लिएर फर्केका विद्यार्थीले आपूmले पाएको ज्ञान तथा सीपको प्रयोग गरी माछापालन, गाईपालन, तरकारी खेतीलगायत कृषि फार्म सञ्चालन गरिरहेका छन् । सरकारले साथ दिएमा स्वदेशमै पनि कृषि क्षेत्रमा लागेर मनग्य आम्दानी गर्नसक्ने र यस क्षेत्रलाई नमुनाको रूपमा स्थापित गर्न सकिने बैंकका अध्यक्ष खेमबहादुर पाठकले जानकारी दिए ।
कृषि उत्पादनमा साना किसानको अग्रणी भूमिका हुने हुँदा ऋणको आवश्यकता मात्रै पूरा गर्न सकेमा किसानको उत्पादन क्षमता वृद्धि भई साना किसानलाई लाभ पुग्नुको अतिरिक्त समग्र मुलुकको अर्थतन्त्रमा सकारात्मक असर पर्दछ ।
प्रतिक्रिया