मोबाइल एप्सबाट सेयर सूचना

काठमाडौं । मुलुकको पुँजी बजारसम्बन्धी सम्पूर्ण सूचना अब ‘मोबाइल एप्स’मा उपलब्ध हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लगानीकर्ता र पुँजी बजारमा चासो राख्नेलाई लक्षित गरी थालिएको उक्त एप्सको अर्थमन्त्री डा. रामशरण महतले आइतबार शुभारम्भ गरेका हुन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा एप्सको शुभारम्भ गर्दै मन्त्री महतले सूचना प्रविधिको वर्तमान युगमा सम्भावित लगानीकर्तालाई कार्यालयसम्म धाउनुपर्ने बाध्यताबाट मुक्त गर्न थालिएको एप्स सेवाबाट पुँजी प्रवाहमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

‘नेप्सेले विद्युतीय कारोबारको प्रक्रियामा पनि शीघ्र सुरु गरोस् भन्ने सरकारको चाहना छ,’ पुँजीबजारको विस्तारमा जोड दिँदै उनले भने । सूचीकृत कम्पनी, धितोपत्र व्यवसायी, लगानीकर्तालाई सुसूचित गर्न तथा पारदर्शिता कायम गर्न एप्स उपयोगी हुने विश्वास पनि मन्त्री महतले व्यक्त गरे ।
नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले प्रस्तुत एप्सबाट पुँजीबजारसम्बन्धी सम्पूर्ण सूचना उपलब्ध हुने जानकारी दिँदै निकट भविष्यमा विद्युतीय कारोबारमा जाने तयारीका साथ नेप्से अघि बढिरहेको बताए । (सौस)

प्रतिक्रिया