राप्रपा नेपालको नाराबाजीबीच बैठक सुरू

Rpp-Nepalकाठमाडौं, १९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सभासद्को नाराबाजी र अवरोधको प्रयासका बीच संविधानसभाको बैठक प्रारम्भ भएको छ ।

बैठकमा ‘नेपालको संविधान, २०७२’ प्रारम्भिक मस्यौदा (विधेयक) लाई ‘सैद्धान्तिक सहमति दिई जनताको प्रतिक्रियाको निमित्त नेपाल राजपत्रमा प्रकाशित गरियोस्’ भन्ने प्रस्तावमा छलफल भइरहेको छ ।

बैठकको प्रारम्भमै राप्रपाका सभासद् रोष्ट्रम घेराउमा उत्रेपछि सभाध्यक्ष सुवाचन्द्र नेम्वाङले आफूले शुक्रबारको बैठकमा नै सो पार्टीले उठाएका आवाजलाई मस्यौदा परिमार्जनका क्रममा समेट्ने प्रयासमा सहयोग रहने बताइसकेकाले बैठकको अवरोध नगर्न आग्रह गरेका थिए ।

नेम्वाङले भने, ‘सभाको बैठकको अवरोध कुनै पनि हालतमा स्वीकार्न सकिँदैन । छलफललाई रोक्न मिल्दैन ।’

हिन्दू राष्ट्रका लागि जनमतसंग्रहमा जान माग गर्दै आएको राप्रपाका सभासद्ले नियम मिचेर छोटो प्रक्रियाबाट मस्यौदामा छलफल चलाउन नहुने भन्दै शुक्रबारको बैठकमा पनि पाँच घन्टा नाराबाजी गरेका थिए ।

प्रतिक्रिया