काठमाडौं । बन्दना कला केन्द्रले राजधानीमा आयोजना गर्न लागेको ‘साइपल मिस एसएलसी’ को चौथो संस्करणमा फिनालेमा प्रतिस्पर्धा गर्न तयार सुन्दरीहरूले राजधानीमा ट्यालेन्ट सो अन्तर्गतको विविध प्रतिभा देखाएका छन् । फाइनलका लागि प्रतिस्पर्धामा उत्रिएका १६ छात्राले प्रतिभा देखाएका हुन् ।
सोमा प्रमिला पौडेल, नयन तारा राई, निस्ता सिग्देल, गरिमा थापा मगर, सिसम लामा, एन्जिसा शाही, मुना पाठकले नृत्य प्रस्तुत गरेका थिए भने सान्त्वना राईले निबन्ध र मुस्कान केसीले कवितावाचन गरेका थिए । त्यस्तै महिमा श्रेष्ठ, अंकिता थापा, सगुन श्रेष्ठ र रेजा खड्गीले गीत गाउँदा रोश्नी मैनालीले ‘मिस एसएलसी आयोजना गर्न किन आवश्यक छ ?’ भन्नेबारेमा तथा जुजुना दाहालले केही समयअघि गएको भूकम्पका बारेमा बनाएको वृत्तचित्र प्रदर्शन गरेका थिए । अर्की प्रतियोगी वर्षा महर्जनले भ्वाइलेनमा नेपाली राष्ट्रिय गीत बजाएर प्रतियोगी तथा निर्णायकलाई मन्त्रमुग्ध पारेकी थिइन् ।
प्रतियोगीहरूले हाल व्यक्तित्व विकास, फोटोसुट, स्वीमिङ, नृत्यलगायतमा प्रशिक्षण लिइरहेका छन् । उनीहरूलाई कोरियोग्राफर किराँत विन्द्रले प्रशिक्षण दिइरहेका छन् । प्रतियोगिताको फाइनल असार १९ गते राष्ट्रिय नाँचघर जमलमा हुने केन्द्रका अध्यक्ष तथा कार्यक्रम निर्देशक अर्पण राईले बताए । (सौस)
प्रतिक्रिया