काठमाडौं । वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा संगीत सिर्जनामा जति पोख्त छन्, गायनमा पनि उनको गलाबाट निस्कने स्वर उत्कृष्ट छ । एक समयमा नेपाली फिल्मको पाश्र्व संगीत र गायनमा सदावहार हिट सेलिब्रेटीका रूपमा स्थापित बास्कोटाले गाएका गीत तथा संगीत भरेका गीत श्रोताका लागि सदैव कर्णप्रिय बनेका छन् । यिनै संगीतकार बास्कोटाले गत शुक्रबार दोलखाको चरिकोटमा आफ्ना कर्णप्रिय गीत प्रस्तुत गर्दा उनीसँगै त्यहाँ पुगेका कलाकारहरूले पनि आफूलाई थाम्न नसकेपछि स्टेजमै पुगेर कम्मर मर्काए ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले चरिकोटको टुँडिखेलमा आयोजना गरेको भूकम्पसम्बन्धी सांस्कृतिक जनचेतना अभियानअन्तर्गतको मनोपरामर्श कार्यक्रममा प्रतिष्ठानका उपकुलपतिसमेत रहेका शम्भुजितले गीत गाउँदा दीपकराज गिरी, दीपाश्री निरौलालगायतले कम्मर मर्काउन भ्याए । दर्शकको आग्रहमा उपकुलपति बासकोटाले ‘चट्ट रुमाल क्या मालुम’, ‘लौ लौ लिली आयो’ जस्ता गीत गाउँदा उनीसँगै स्टेजमा जितु नेपाल, केदार घिमिरे पनि नाँच्न पुगे ।
भूकम्पबाट त्रसित स्थानीयलाई सामान्य जीवनतर्फ फर्काउन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा हाँस्य कलाकार दीपकराज र दीपाश्रीले भूकम्पलाई विषय बनाएर देखाएको प्रहसनले दर्शकलाई हसाउँदा केदार घिमिरे ‘माग्ने बुढो’ पनि दर्शकलाई हसाउन पछि परेनन् । हाँस्य प्रहसनलाई अर्का कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले पनि निरन्तरता दिँदा दर्शकले पेट मिचि–मिची मनोरञ्जन लिए ।
कमेडियनको प्रस्तुतिबाट हाँसो थाम्न नसकिरहेका बेला लोकगायकद्वय बिरही कार्की र राजु ढकाल स्टेजमा चढेर दोहोरी गाउँदा दर्शकहरू असारको घाम र गर्मीलाई बेवास्ता गर्दैै छमछमी नाँचे । गायक दाजुभाइ सत्य–स्वरपराज आचार्यले विभिन्न राष्ट्रिय भावनाका गीत गाए पनि दर्शकको आग्रहलाई नकार्न नसक्दा आफ्ना चर्चित गीत पनि सुनाएर दर्शकको मुहारमा खुसी थपिदिए ।
कार्यक्रमका स्थानीय संयोजक वरिष्ठ कलाकार मदनदास श्रेष्ठले दोलखाको भूकम्पीय अवस्थाबारे चर्चा गर्दै पुनर्निर्माणमा एकजुट भएर लाग्न आग्रह गरे । कार्यक्रमको व्यवस्थापन स्थानीय गौरिशंकर सामुदायिक पुस्तकालयले गरेको थियो ।
प्रतिक्रिया