काठमाडौं । टेलिभिजनमा मोडलका रूपमा दर्शकमाझ आउने बाल्यकालको सपनालाई जगदीश गुरुङले अहिले आएर पूरा गरेका छन् । विगत सात वर्षदेखि दुबईको अबुधाबी प्रहरीमा कार्यरत जगदीश संगीतकार तेनहाङ राईको गीति एल्बम ‘सरलता’ मा रहेको ‘ए मोरी’ बोलको गीतमा अभिनय गर्दै मोडलिङमा छिरेका हुन् ।
उनले गीतकार पोषेन्द्र सत्यालको शब्द एवं रामचन्द्र काफ्लेको आवाजमा रहेको गीतमा अभिनय गरेका हुन् । यो गीतपछि उनले गायक डेबिड शंकरको गीत ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ मा पनि अभिनय गर्ने मौका पाएका छन् । सर्लाही हरिवनका जगदीश सानैदेखि नायकहरूको अभिनय नक्कल गर्ने गर्थे । ‘साथीभाइले उक्साएपछि आफू पनि हिरो हुन्छु भन्ने सोच्न थालेँ,’ उनले भने । जगदीशले अभिनय गरेका दुई भिडियोका निर्देशक दयाराम घिमिरे पनि उनको अभिनयबाट प्रभावित छन् । ‘उहाँमा अभिनयको कौशलता मैले पाएको छु, भविष्यमा पनि अझ राम्रो गर्न सक्नुहुनेछ भन्नेमा आशावादी छु,’ निर्देशक घिमिरेले भने । (सौस)
प्रतिक्रिया