नौ सयको स्वास्थ्य परीक्षण

धनकुटा, ३१ जेठ । धनकुटाको मारेककटहरेमा भएको निःशुल्क स्वास्थ्य शिविरमा नौ सयभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला विकास समितिको सहयोगमा केयर वुमन नेपाल र लायन्स क्लव अफ धनकुटाले संयुक्त रुपमा मारेककटहरे – ७ मूलखर्कस्थित शारदा उच्च माविमा दुईदिने शिविर सञ्चालन गरेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बिरामीको स्वास्थ्य परीक्षण गरेर शिविरको उद्घाटन गरेका थिए । शिविरमा नौ सय २५ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको आयोजक संस्थाकी अध्यक्ष इन्दिरा थापाले जानकारी दिइन् । उनका अनुसार पाँच सय १५ जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् । त्यस्तै दुई सय १० पुरुषको पनि परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षण गरिएका मध्ये १५ जनामा मोतिया बिन्दु भेटिएको छ । त्यस्तै ३५ जनामा पाठेघर खसेको, १० जनामा रिङ प्रेसरी लगाइएको र दुईजनामा हाइड्रोसिल भएको पाइएको परीक्षणमा संलग्न चिकित्सकले बताए ।
यसैबीच केयर वुमन नेपालकी अध्यक्ष इन्दिरा थापाले भूकम्पपीडितलाई राहत सहयोग पनि गरेकी छन् । उनले मूलखर्कका भूकम्पपीडित पाँच परिवारलाई प्रतिपरिवार २५ किलो चामल, २५ किलो चिउरा, ओड्ने, त्रिपाल, कपडालगायत सामाग्री प्रदान गरेको
जानकारी दिइन् ।
उनका अनुसार राहत वितरणका लागि बिराटनगरका उद्योगी देवकिसन मुन्दडाले सहयोग गरेका हुन् ।

प्रतिक्रिया