जोडिँदै छन् भत्केका मनहरू

sher-bahadur-bhujel-dolakhaवैशाख १२ गते, एक हप्ता जति भएको थियो । कालिञ्चोक सामुदायिक एफएमका स्टेसन म्यानेजर जीवन लामा र मैले विपत् जोखिम व्यवस्थापनसम्बन्धी कार्यशालामा सहभागी भएर फर्केको । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेटले आयोजना गरेको कार्यशालामा भूकम्पका कुरा बढी भए । कार्यशालामा हामीले धेरै योजना बनाएका थियौँ । विपत् जोखिम न्यूनीकरणदेखि विपत्को बेला र त्यसपछि समेत कसरी काम गर्ने भन्नेबारेमा हामीले योजना बनाएका थियौँ । तर, योजना कार्यान्वयनको तयारी गर्न नपाउँदै विनाशकारी भूकम्पको सामना गर्न बाध्य भइयो ।

सौर्य दैनिकमा आवद्ध भएपछि लामो समयदेखिको अपूरो चाहना पूरा हँुदै थियो । दैनिक पत्रिकामा आबद्ध भएर काम गर्ने मेरो रहर पूरा गर्न लागिपरेको थिएँ । फोटोग्राफीमा रुचि र महँगो मूल्य तिरेर किनिएको क्यामेराको अब काम आउने भयो भन्ने लागेको थियो । शनिबारको दिन वैशाख १२ गते सौर्य दैनिक र मैले काम गर्दै आएको रेडियोलाई हुने गरी म स्थलगत रिर्पोटिङका लागि भीरकोटतर्फ जाँदै थिएँ । विनाशकारी भूकम्पले गर्दा त्यो दिनको रिर्पोटिङ पूरा हुन सकेन ।
वैशाख १२ गतेको पहिलो र ठूलो भूकम्पको धक्का महसुस गर्न पाइएन । कच्ची बाटोमा बसको यात्रामा थियौँ हामी । महिला विकास कार्यालय दोलखाले जिल्लाको भीरकोट गाविसमा गरेको जीविकोपार्जन सुधार कार्यक्रमको अनुगमनका लागि जाँदै थियौँ । यात्रामा दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आलेसहित सरकारी कार्यालय प्रमुख र केही सञ्चारकर्मी गरी हामी २५ जना जति थियौँ । रिर्जभ गरी सदरमुकामबाट लगिएको बसको एलसीडीमा मज्जाले लोकगीतका दृश्यसँग हामी रमाउँदै थियाँै । कार्यक्रमस्थल पुग्नै लाग्दा हामी चढेको गाडी बेस्सरी हल्लियो । मेरो अघिल्लो सिटमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी आलेलाई पहाडको कच्ची बाटो यस्तै हो, हल्लाउँछ भनेँ । बस अलिकता मात्र अगाडि बढेको के थियो । मान्छेहरू भागभाग गर्न थालेको देखियो । ठाउँ–ठाउँमा धुलो उड्यो । हाम्रो गाडी रोकियो । के भयो भनेर सोध्न नपाउँदै भुइँचालो गयो भनेर भनिहाले । हामी हतार–हतार गाडीबाट ओर्लियौँ । त्यतिबेलासम्म ठूलो धक्का रोकिइसकेको थियो । तर, साना–साना पराकम्पन गइरहेका थिए ।
वरिपरिको वातावरण धुलाम्य बन्यो । घरहरू धमाधम भत्कँदै थिए । सुरुमा मलाई परिवारको याद आयो अनि मेरा सहकर्मीको । मसँग भएको जीएसएम फोनले काम गरेन । पत्रकार साथी अर्जुन दाहालको सिडिएमले फोनमार्फत पवटीमा भएको परिवारसँग सम्पर्क भयो । घर भत्के पनि परिवार सुरक्षित भएको थाहा पाएपछि अलि ढुक्क भयो । सबै हतास देखिन्थे । टेलिफोनमार्फत घर परिवार र आफन्तलाई फोन गर्न सबै व्यस्त थिए । राजधानीमा रहेका सहकर्मी जीवन लामासँग बल्लतल्ल फोन लाग्यो । भूकम्पले राजधानीमा पनि निकै क्षति पुगेको थाहा भयो । सौर्य दैनिकमा के भयो होला ? भन्ने जिज्ञासा लाग्यो । फोन गरे पनि मरिगए लागेन । यतिबेला मन दह्रो पारेर सम्हालिनुको विकल्प थिएन । हामी काम छोडेर चरिकोट फर्कियाँै । बाटोमा एकैछिन अघिका राम्रा र सुन्दर घरहरू ध्वस्त भएका थिए । यिनै दृश्य हेर्दै चरिकोट आइपुगियो । चरिकोटको दृश्य निकै भयावह थियो ।
न टेलिफोन थियो । न बिजुली । इन्टरनेट हुने कुरै भएन । जुन आपत् विपत्को बेला नागरिकलाई सूचना चाहिन्छ त्यही बेला हामी सूचना दिन नसकेर नराम्रोसँग चुकेका थियौँ । आफ्नो अनुभव, ज्ञान र सीपलाई सही बेलामा प्रयोग गर्न सकिएन । यस्तो अवस्थामा भित्रैबाट नराम्रो लाग्दो रहेछ । गाउँ पुगे पनि दुई दिनभन्दा बढी बस्न सकिएन । सबै स्थानीय रेडियो स्टेसन बन्द रहेपछि आम नागरिक सूचना थाहा पाउनका लागि रेडियो नेपालको भर परेका थिए । हामी पनि त्यसैको भरमा थियौँ । सबै पत्रकार साथीको बेहाल भयो । सदरमुकाम चरिकोटमा घर हुने पनि पत्रकार पनि विस्थापित भए । हामी डेरा गरी बस्नेको त झन् बेहाल भयो ।
भूकम्पका पराकम्पन कम हुँदै गएपछि आंशिक रूपमा रेडियो स्टेसन सञ्चालनमा ल्याइयो । बिहान, दिउँसो र बेलुका एक एक घन्टा भूकम्पसम्बन्धी स्थानीय गतिविधि रेडियोबाट प्रसारण गर्न सुरु गरियो । कार्यक्रम उत्पादनका लागि सहकर्मीलाई संयोजन गर्दै म फिल्डमा खटिएँ । इन्टरनेट सेवा सञ्चालनमा आएपछि बाहिरका साथीसँग पनि सम्पर्क हुन थाल्यो । इन्टरनेट खुलेपछि थाहा भयो, केही दिन रोकिएपछि सौर्य दैनिक पनि प्रकाशन हुन थालेछ । जिल्लाको भूकम्पपछिको अवस्थाका बारेमा समाचार पठाउन थालियो । आफू काम गर्ने रेडियो स्टेसन बन्द भएको समाचार सौर्य दैनिकका लागि लेखियो । यतिबेला आफ्नै समाचार आफैँले लेखे जस्तो लाग्यो । जीवनयापन सहज हुँदै गयो । डेरामै सुत्न थालियो । राति केही पराकम्पन आउँथे, तर्साउँथे, जान्थे ।
समाचारकै खेतीमा जुटेको बेला २९ गते फेरि शक्तिशाली भूकम्प गयो । यसले दोलखामा बढी नै क्षति पु¥यायो । काम गर्ने अफिसमा फेरि क्षति पुग्यो । जनजीवन झन् त्रासदीपूर्ण बनायो । स्थिति पहिलाको भन्दा झन् भयावह भयो । टेलिफोन, बिजुली, इन्टरनेटले फेरि काम गर्न छाड्यो । रेडियो स्टेसनमा पनि पहिलोको भन्दा बढी क्षति पुग्यो । डेरामा पनि बस्न सकिने अवस्था रहेन । केही दिन पालको बसाइँ भयो । सम्पर्कविहीन अवस्थामा त्रासदीपूर्ण रात बिताइयो ।
सबै जुटेर मनहरू सम्हाल्दै खुला चउरमा टेन्ट राखेर काम गर्न सुरु गरियो । केही सहयोगी मनहरूले खुलेर सहयोग गरेपछि काम गर्न सहज भएको छ । बस्ने, काम गर्ने, खाने, सुत्ने त्यही टेन्ट भएको छ । रिर्पोटिङपछि टेन्टमा बसेर लेखेका समाचार सौर्य दैनिकमा प्रकाशन भइरहेका छन् । अनि विस्तारै अब भत्केका मनहरू जेड्दै सामान्य बन्ने प्रयासमा जुटेको अवस्था हो । रिपोर्टरको डायरी

प्रतिक्रिया