मुम्बई । हालका दिनमा जोया अख्तरको मल्टिस्टार फिल्म ‘दिल धडक्ने दो’ ले निकै चर्चा पाएको छ । अहिले यो फिल्मको भन्दा पनि फिल्मको पोस्टरको तारिफ बढी हुन थालेको छ । फिल्मको पोस्टरमा रहेको जनावर कुकुर पात्र प्लुटो अर्थात् प्लुटो मेहराले गर्दा फिल्मको प्रमोसन नयाँ चरणमा पुगिसकेको छ । फिल्मका अधिकांश पोस्टरमा आफ्नो स्थान ओगटेको प्लुटो फिल्मको प्रमोसनमा पनि उत्तिकै दौडधूप गरिरहेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार प्लुटोलाई पोस्टरमा भन्दा अझ बढी सुटिङस्थलमा विशेष स्थान दिइएको थियो । उसलाई चौतर्फी सुरक्षा दिएर सुटिङ गराइएको थियो । फिल्मकी अभिनेत्री प्रियंका चोपडाका अनुसार सुटिङका बेला प्लुटोलाई स्टार ट्रिटमेन्ट दिइने गरिएको थियो । ‘उसलाई खानपिउनमा विशेष ध्यान दिइएको थियो, उसैका लागि होटलमा एउटा विशेष स्वीट बुक गरिएको थियो,’ प्रियंकाले भनेकी छन्, ‘धेरैपटक प्लुटोले मुड नबनाउँदा हामीले सुटिङ रोक्नुपरेको थियो । उसको मुड बनाउञ्जेल सेटमै बसिरहनुपर्ने अवस्था त अनगिन्ती नै आए ।’
सेटमा सबै कलाकारले प्लुटोसँग निकै घुलमिल गर्ने मौका पाए । ‘प्लुटो निकै तालिम प्राप्त कलाकार हो, उसलाई कुन दिशामा देखिनुपर्छ र कसरी अभिनय गर्नुपर्छ भन्ने कुरा पहिल्यै थाहा हुन्थ्यो,’ फिल्ममा प्रियंकाको भाइको भूमिकामा अभिनय गरेका अभिनेता रणवीर सिंहले भनेका छन्, ‘उसको अभिनय देख्दा हामी सबै तीन छक्क पथ्र्यौं ।’ कमेडी फ्लेबरमा बनेको फिल्ममा अनिल कपुर, सैफअली शाह, प्रियंका चोपडा, रणवीर सिंह, अनुष्का शर्मा र फरहान अख्तरले अभिनय गरेका छन् । फिल्मका निर्माता रितेश सिध्वानी र फरहान अख्तर हुन् । फिल्म शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । (एजेन्सी)
प्रतिक्रिया