काठमाडौं । भूकम्प गएपछि लामो समय बन्द रहेका विद्यालय आइतबारदेखि खुल्न थालेका छन् । खुलेका विद्यालयमा विद्यार्थीहरू डराइ–डराइ गइरहेपछि नेपाल प्रहरीले ती विद्यार्थीलाई भूकम्पको त्रास र तनावबाट मुक्ति दिलाउने उद्देश्यसहित सांस्कृतिक कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गरेको छ ।
यसै क्रममा नेपाल प्रहरीले मंगलबार ललितपुरको सेन्ट मेरीज स्कुल परिसरमा विद्यार्थीहरूलाई मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको छ । स्कुलमा नेपाल प्रहरी संगीत विद्यालयका कलाकारहरूले नृत्य, गायनलगायतका विविध मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम पस्केका थिए । उनीहरूको प्रस्तुतीबाट बालबालिकाहरू उत्साहित मात्र बनेनन्, प्रहरीको नृत्य देखेर आफू पनि नाँचे ।
यसअघि नेपाल प्रहरी संगीत विद्यालयको टोलीले भूकम्प अति प्रभावित जिल्लाका शिविरमा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेको छ । (सौस)
प्रतिक्रिया