मुम्बई । बलिउड बादशाह शाहरूख खान र देशी गर्ल प्रियंका चोपडा ठूला पर्दाका सुपरस्टार कलाकार हुन् । ठूला पर्दामा सुपरस्टारको छवि बनाइसकेका यिनीहरू अब सामाजिक सञ्जालमा पनि त्यही सुपरस्टारको छवि बनाउँदै अघि बढिरहेका छन् ।
यसैकारण उनीहरूलाई सामाजिक सञ्जालका ‘किङ’ र ‘क्विन’ को उपाधि दिइएको छ । बलिउडको एक अनलाइन पोर्टलले सामाजिक सञ्जालमार्फत प्रशंसकसँग निरन्तर सम्पर्क स्थापित गरिएकोमा त्यसको कदर गर्दै ‘किङ एन्ड क्विन अफ सोशल मिडिया’ को उपमा दिएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार ‘बलिउडलाइफ डट कम’ ले ‘सोसिएल मिडिया अवार्डस् २०१५’ को अवार्ड शाहरूख र प्रियंकालाई दिएको हो । अनलाइनले ती सेलिब्रेटीहरूलाई यो उपाधि दिन्छ, जसको सामाजिक सञ्जालमा सक्रियतासँगै प्रशंसक पनि बढी हुन्छन् ।’ १६ श्रेणीको नतिजा एवं विजेता पाउनका लागि गत महिना अनलाइनले एक सर्वे गरेको थियो, जसमा १ दशमलब ३० लाख बढी दर्शक सहभागी थिए ।
‘दुनियाँमा यस्ता मानिस धेरै छन्, जसले मलाई वर्षौंदेखि प्रेम र सहयोग दिए, पहिला प्रशंसकसँग सम्पर्क गर्न र उनीहरूलाई धन्यवाद दिन चिठी वा कार्डको मात्र प्रयोग हुने गर्दथ्यो, अहिले सामाजिक सञ्जालले जिन्दगीलाई सजिलो बनाइदिएको छ, म मेरा अहिले सञ्जालमार्फत प्रशंसकसँग नजिक जान सक्छु, उनीहरूलाई धन्यवाद दिन सक्छु र उनीहरूसँग कुरा गर्न सक्छु,’ शाहरूखले भनेका छन्, ‘यो पुरस्कार विश्वका ती सबै मानिसलाई जान्छ जसले मलाई बिनाशर्त प्रेम र सहयोग दिए ।’
अभिनेत्री प्रियंकाले पनि आफू जहिल्यै पनि रानी बन्न चाहेको उल्लेख गर्दै आफूले ‘मिस वल्र्ड’ को उपाधि चुम्दा त्यो क्षण आएको स्मरण गरेकी छन् । ‘मलाई अहिले यो पुरस्कार जित्दा त्यही बेलाको सम्झना आयो, मलाई छनौट गर्नुहुने सबै दर्शकलाई धन्यवाद दिन चाहन्छु,’ प्रियंकाले भनिन् । (एजेन्सी)
प्रतिक्रिया