भूकम्पपछि प्रशिक्षणमा मिस र मिस्टर एसएलसी

Beautyकाठमाडौं । भूकम्प गएपछि सुस्ताएको सौन्दर्य प्रतियोगिताको क्षेत्रले आममानिसको जनजीवन सहज बनेसँगै आफ्नो सक्रियतालाई विस्तारै अगाडि बढाउँदै गएको छ । भूकम्प गएको दिनमै फोटोसुटमा व्यस्त बनेका ‘मिस एसएलसी नेसनल’ र ‘मिस्टर एसएलसी नेपाल–२०१५’ का प्रतियोगीहरू झन्डै डेढ महिनाको शून्यतापछि पुनः नियमित प्रशिक्षणमा फर्किएका छन् ।
युहान इभेन्ट इन्टरनेसनलले आयोजना गर्न लागेको ‘मिस एलएलसी नेसनल–२०१५’ मा एसएलसी दिएर बसेका ३० छात्रा प्रतिस्पर्धा गरिरहेका छन् । महाभूकम्पको त्रासदी हट्दै गएको र परिस्थितिलाई सामान्य अवस्थामा फर्काउन प्रतियोगीहरूलाई प्रशिक्षण दिन थालिएको युहानका प्रबन्ध निर्देशक सानु खानले बताए । उनका अनुसार यस्ता प्रशिक्षणले प्रतियोगीहरूका मनमा उत्पन्न भूकम्पको त्रासलाई कम गर्न थप टेवा पुग्ने छ ।
‘मिस एसएलसी नेसनल’सँगै ‘मिस्टर एसएलसी नेपाल–२०१५’ को प्रतियोगीहरूको पनि प्रशिक्षण सुरु गरिएको छ । यी दुवै प्रतियोगिता युहानले पहिलोपटक आयोजना गर्न लागेको हो । ‘मिस्टर एसएलसी नेपाल–२०१५’ मा एसएलसी दिएर बसेका २१ जना छात्रले स्पर्धा गर्दै छन् । दुवै प्रतियोगिताका प्रतियोगीलाई कोरियोग्राफर रोजिन शाक्यले तीकुनेस्थित ग्रीन क्याफेमा विभिन्न व्यक्तित्व विकासबारे प्रशिक्षण दिइरहेका छन् ।
प्रतियोगितामा विजेता बन्नेलाई प्लस–टुमा फुल स्कलरसिप प्रदान गरिने आयोजक संस्थाकी अध्यक्ष सञ्जिता श्रेष्ठले बताइन् । उनका अनुसार प्रतियोगितामा सहभागिता मात्र जनाउनेहरूले पनि ३० प्रतिशत छात्रवृत्ति पाउनेछन् । दुवै प्रतियोगिताको फाइनल आगामी असार १८ गते राजधानीस्थित राष्ट्रिय नाचघरमा हुनेछ । (सौस)

प्रतिक्रिया