राष्ट्रपतिद्वारा वीर अस्पताल निरीक्षण

Rambaran-Yadavकाठमाडौं, १९ जेठ । भूकम्पले भत्किएको वीर अस्पतालको सोमबार राष्ट्रपति डा. रामवरण यादवले निरीक्षण गरेका छन् ।

राष्ट्रपति यादवले वीर अस्पताल परिसरका बहिरंग, अन्तरंग विभागका साथै नर्सिङ कलेज तथा छात्रावासलगायत भवनको निरीक्षण गरेका थिए । भूकम्पबाट अस्पतालमा भएको क्षतिका बारेमा राष्ट्रपति यादवलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुङले जानकारी गराए ।
सो क्रममा राष्ट्रपति डा. यादवले इतिहास बोकेको चिकित्सा विज्ञान संस्थालाई चाँडो मर्मत तथा पुनर्निर्माण गरी पहिलाकै अवस्थामा पुर्‍याएर जनतालाई प्रभावकारी सेवा दिन निर्देशन दिए । भूकम्पले अस्पतालको नर्सिङ कलेजको छात्रावास र भान्छाकोठालगायत पूरै भवन क्षतिग्रस्त भएको छ । त्यहाँ सहरी विकास तथा भवन निर्माण विभागले रातो स्टिकर टाँसेको छ । त्यस्तै, मुख्य भवनसँगैको बहिरंग खण्ड मर्मत गर्नुपर्ने भएकाले पहेँलो स्टिकर टाँसिएको छ । अस्पतालको नयाँ सघन उपचार कक्ष, अर्बुद्ध रोग, महिला उपचार कक्षलगायत रहेको चारतले भवनमा रातो स्टिकर टाँसिएको छ । वीर अस्पतालमा चारवटा मुख्य भवनसहित नर्सिङ कलेज छात्रावासलगायत भवन छन् ।
उता, राष्ट्रपति डा. रामवरण यादवले भूकम्पबाट क्षतिग्रस्त बनेको नेपालको पहिलो विद्यालय दरबार हाइस्कुलको पनि सोमबार निरीक्षण गरेका छन् । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण उक्त स्कुल पूर्णरूपमा क्षति भएको थियो । भवन विभागले बस्न असुरक्षित जनाउँदै रातो स्टिकर टाँसेपछि दरबार हाइस्कुल परिसरमै अस्थायी टहरा बनाएर कक्षा सञ्चालन गरिएको छ ।
निरीक्षणका क्रममा राष्ट्रपति डा. यादवले इतिहास बोकेको दरबार हाइस्कुल पुनर्निर्माणका लागि सरोकारवाला मन्त्रालयलाई निर्देशन दिने बताएका थिए ।

प्रतिक्रिया