काठमाडौं । एक्सन इन्टरटेनमेन्ट प्रालीको आयोजनामा हुँदै आएको ‘मिस मंगोल नेपाल’को सातौँ संस्करण भूकम्पका कारण पछि सरेको छ । प्रतियोगिता जेठ ३० गते हुने तय भएको थियो । आवेदन आह्वान गरी अडिसनबाट २८ जना अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका थिए ।
प्रतियोगीता स्थगित भएकाले छनोटमा परेका केही प्रतियोगिता भाग लिन नसक्ने भएपछि पुनः आवेदन आह्वान गरी आगामी अगस्टमा प्रतियोगिता हुने आयोजक संस्थाकी प्रबन्ध निर्देशक चन्दा घिसिङले बताइन् ।
यसअघि मिस मंगोल आयोजना हुँदै आएको भद्रकालीस्थित आर्मी अफिसर्स क्लब र कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठान दुवै हलमा भूकम्पले क्षति भई अनिश्चित कालका लागि बन्द भएकाले पनि प्रतियोगीता आयोजनामा कठिनाइ भएको हो । नेपाली सौन्दर्य प्रतियोगितामा आफ्नै पहिचान बनाएको प्रतियोगितामा १६ देखि २४ वर्ष उमेर समूह, घटीमा एसएलसी पास एवं पाँच फिटभन्दा बढी उचाइ भएका आदिवासी जनजाति समुदायका अविवाहित युवतीले भाग लिन पाउनेछन् ।
नेपालमा पहिलोपटक विजेतालाई एक लाख रूपैयाँ पुरस्कार दिन थालेको यस प्रतियोगितालाई सुन्दरता, बौद्धिकता र संस्कृतिबीचको फ्युजनका रूपमा लिइएको छ । विजेता छनोट प्रक्रियालाई वैज्ञानिक र सान्दर्भिक बनाउन २५ प्रतिशत एसएमएस भोटिङ, २५ प्रतिशत ट्यालेन्ट सो र ५० प्रतिशत अन्तिम प्रतिस्पर्धाका दिन प्रतियोगीको प्रस्तुतिलाई आधार बनाइँदै आएको छ ।
प्रतियोगितामा विभिन्न जातीय सौन्दर्य प्रतियोगिताका विजेतालाई विनाअडिसन सहभागी गराइने आयोजकले जनाएको छ । त्यसैगरी, यस वर्षदेखि सर्टकट इन्ट्रिमार्फत मिस ट्यालेन्ट र पब्लिक च्वाइस उपाधि विजेताले उत्कृष्ट १५ मा सिधै प्रवेश पाउने भएका छन् । प्रतियोगीलाई कोरियोग्राफर रोजिन शाक्यले एक महिना प्रशिक्षण दिने छन् । प्रशिक्षणमा प्रतिभा प्रस्फुटन, आत्माविश्वास अभिवृद्धि, व्यक्तित्व विकासदेखि मौलिक कला, संस्कृति, भाषा, भेषभूषा आदिका बारेमा जानकारीमूलक कक्षासमेत दिइनेछ । यसअघि सृष्टि राजकर्णिकार, वर्षारानी गुरुङ, सुम्निमा देवान, सपना रोकामगर, मुस्कान लिम्बु र एनिस्ता गुरुङले शीर्ष उपाधि चुमिसकेका छन् । (सौस)
प्रतिक्रिया